Saturday, July 25

आउँदो चुनावमा १५० सिट जित्छौं : ओली

नेपालअखबार, धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अगामी निर्वाचनमा १५० सिट जित्ने दाबी गरेका छन् ।

Advertisement

कञ्चनपुरको महेन्द्रनगरमा बुधबार आयोजना गरिएको पार्टीको आमसभालाई सम्बोधन गर्दै ओलीले प्रत्यक्ष र समानुपातिकतर्फ गरेर एमालेले १५० सिट जित्ने दाबी गरेका हुन् ।

Advertisement
Advertisement

एमाले सत्ता बाहिर हुँदा समेत पार्टीमा प्रवेश गर्ने जनलहर बढेको उल्लेख गरेका ओलीले एमालेले जिते मात्र देशले जित्ने दाबी गरे । ‘गठबन्धनले जिते देश हार्छ, विकास र समृद्धि हार्छ त्यसैले एमालेले जित्नुपर्छ । देशलाई जिताउने अभियानमा सबै सरिक हुनुस्,’ ओलीले भने, ‘आउँदो चुनावमा हामी प्रत्यक्ष र समानुपातिक गरेर कम्तीमा १५० सिट जित्नेछौं र दुनिया चकित पर्नेछ ।’

Advertisement

सत्तारुढ गठबन्धनमा नेताहरु देखिए पनि जनता भने एमालेमै रहेको जिकिर उनको थियो । गठबन्धन सरकार राष्ट्रियताको रक्षा, विकास र समृद्धिका पक्षमा काम गर्न नसकेर शक्ति राष्ट्रसामू निरिह बनेको आरोप ओलीले लगाए ।

ओलीले लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएपनि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रष्ट रुपमा भन्न नसकेको र उल्टै यी भूभाग समस्याग्रस्त बताउने गरेको समेत जनाए ।

‘प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जानुभयो । कसरी बोल्नभयो ? म्याउम्याउ म्याउ गर्नुभयो । लिपुलेक,कालापानी फिर्ता देऊ भन्नुपर्दैन ?’ ओलीले भने, ‘अलिपछि गठबन्धनको अर्को नेता जानुभो । उहाँले बोलेको त बाहिर सुनिने कुरै भएन । हामी यो पनि छोडिदिउँला, त्यो पनि छोडिदिउँला, केपी ओलीले सबै खाइदिने भो । खुस खुस, खुसखुस, प्राण बचाइदिनुपर्यो भन्नुभयो ।’

उनले सत्तारुढ गठबन्धन तत्काल टुट्ने अवस्था नरहेको टिप्पणी गर्दै ओलीले गठबन्धन आफैं बनेको नभएर अरुले नै टाउको जोडिदिएको दाबी गरे । एमाले कञ्चनपुरले आयोजना गरेको कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) पार्टी, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस लगायतका पार्टीबाट ठूलो संख्यामा नेता, कार्यकर्ता प्रवेश गरेका छन् ।

सुदूरपश्चिमका पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य तारा लामा तामाङ, भौतिक पूर्वाधार विकास राज्यमन्त्री कुलवीर चौधरी, एकीकृत समाजवादीका पूर्व प्रदेश अध्यक्ष बिक्रम शाही, समाजवादीका जिल्ला उपाध्यक्ष एवं वेदकोट नगरपालिकाका पूर्वमेयर अशोककुमार चन्द, माओवादीका नेता मोहन गिरी लगायतका एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई ओलीले पार्टीमा स्वागत गरेका छन् ।