Sunday, July 26

शुभकामना आदानप्रदान एवम् स्वास्थ्य सचेतना कार्यक्रम

नेपालअखबार, पोखरा,  ।  कस्केली अधिकृत समाज, कास्कीले विजयादशमी, दिपावली तथा छठ लगायतका पर्वका अवसरमा शुभकामना आदनप्रदान एवम् मृगौला तथा मुटुरोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
राष्ट्रिय चाडहरूका अवसरमा शुभकामनासँगै स्वास्थ्यप्रति सचेतना अभिबृद्धि गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीले बताउनुभयो ।
कार्यक्रममा बरिष्ठ युरोलोजिष्ट डा.प्रकाश क्षेत्रीले प्रत्येक व्यक्ति आफ्नो स्वास्थ्यप्रति वेलैमा सचेत बनेमा मृगौला रोगबाट बच्न सकिने बताउनुभयो । पिसाब कम हुने तथा रगत देखा पर्ने, बान्ता हुने, हातखुट्टा तथा अनुहार सुनिने, शरिर चिलाउने, निन्द्रा नलाग्ने, उच्च रक्तचाप बढ्ने, खाना नरुच्ने जस्ता समस्या भएमा मृगौलामा समस्या हुन सक्ने बताउँदै उहाँले त्यस्ता लक्षण देखिएमा स्वास्थ्य परीक्षण गराउन सुझाव दिनभयो ।
सामान्यतः नुन कम खाने, दुखाईका औषधी जे पायो त्यही नखाने, नियमित स्वास्थ्य परीक्षण गराउने गरेमा यसबाट जोगिन सकिने उहाँले बताउनुभयो । मृगौलाको पोखरामा सफल प्रत्यारोपण हुने गरेको जानकारी दिदै उहाँले यसको सबै किसिमको रोगको उपचार पोखरामा नै सम्भव रहेको बताउनुभयो । मृगौला प्रत्यारोपण नियमित सेवाको रुपमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निशुल्क उपलब्ध रहेको पनि उहाँले बताउनुभयो ।
बरिष्ठ फिजिसियन डा.विश्वराज बरालले पछिल्ला समयमा फैलदै गएको डेंगुको सङ्क्रमणमा सचेत रहन आग्रह गर्नुभयो । डेंगुबाट जोगिनका लागि लामखुट्टे बस्न सक्ने पानी जमेका स्थानको सरसफाईमा ध्यान दिन उहाँले आग्रह गर्नुभयो । धेरै लामो समयसम्म ज्वरो आउने, बान्ता हुने जस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य परीक्षण गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा समाजका सल्लाहकार दुर्गाबहादुर शाह(बाबा), भगवान पन्त, प्रेमप्रकाश गौतम, विष्णुप्रसाद बराल, विश्वनाथ पराजुली, समाजका उपाध्यक्ष लोकनाथ दवाडी, सचिव महेश पौडेल लगायतले चाडपर्वहरूले सबैमा सुख शान्ति र समृद्धि ल्याउने विश्वास व्यक्त गर्नुभयो । उक्त अवसरमा स्वास्थ्यकर्मीहरूबाट सहभागीको रक्तचाप परीक्षण गरिएको थियो ।

Advertisement
Advertisement

Advertisement