Thursday, July 16

दसैं मनाउन १७ लाखले छाडे काठमाडौं उपत्यका

नेपालअखबार, काठमाडाैं । काठमाडौं उपत्यकाबाट यस वर्ष गत वर्षभन्दा झन्डै दोब्बर यात्रु बाहिरिएका छन्।

Advertisement

यो महिनाको सुरूदेखि आज फूलपातीसम्म झन्डै १७ लाख उपत्यकावासी दसैं मनाउन आ–आफ्नो घर गएका हुन्।

Advertisement
Advertisement

विगत दुई वर्ष कोभिडका कारण दसैं मनाउन काठमाडौं उपत्यका बाहिर जानेको संख्या कम हुने गरेकामा यो वर्ष ह्वात्तै बढेको हो। उपत्यकाबाट बाहिरका जिल्लाहरूमा जाने सबैभन्दा बढी नागरिकले सार्वजनिक यातायातको नै प्रयोग गरिरहेको राष्ट्रिय यातायात व्यवसायी महासंघ नेपालका अध्यक्ष विजय स्वाँरले बताए।

Advertisement

अहिलेसम्म १७ लाखको हाराहारीमा नागरिकले उपत्यका छाडेका छन् भने विजया दशमीको दिनसम्ममा अझै दुई लाखले उपत्यका छाड्ने अनुमान गरिएको छ।

‘विभिन्न कारणले जान नपाएकाहरू पनि भोलि र पर्सिसम्म जानुहुन्छ,’ उनले भने।

विगतका वर्ष जस्तै यो वर्ष पनि सवारी साधनमा तोकिएकोभन्दा बढी भाडा लिने, एउटै सिटमा दुई जनाको टिकट काट्ने, यात्रुलाई टिकट काट्दाको भन्दा फरक सिटमा राख्नेलगायतका समस्या यात्रुले भोगिरहेका छन्।

कतिपय यात्रुले पहिले नै टिकट नकाटेर बीच बाटोबाटै गाडी चढ्दा बढी भाडा लिएको हुनसक्ने अध्यक्ष स्वाँरले बताए।

सवारीसाधनहरूले सामान्य अवस्थामा प्रतिस्पर्धा हुँदा तोकिएकोभन्दा कम भाडामा समेत यात्रु बोक्ने भए पनि अहिले तोकिएको लिइरहेको उनको भनाइ छ।

काठमाडौंबाट मात्रै होइन उपत्यका बाहिरका क्षेत्रीय सहरहरूबाट र जिल्ला सदरमुकामहरूबाट पनि धेरै यात्रु आ-आफ्नो घर जाने गरेका छन्।

कतिपय यात्रु काठमाडौं बाहिरबाट उपत्यका भित्रने भए पनि त्यो संख्या कम रहेको महासंघले जनाएको छ। आमनागरिकले उपत्यकाबाट सबै बस भरिएर गएको देखे पनि फर्किएर आउँदा खालीजस्तै हुने उनले बताए।

सबै क्षेत्रले यात्रुबाहक सवारीसाधनलाई पहिलो प्राथमिकतामा दिएर त्यसपछि मात्रै निजी र मालबाहक सवारी साधनलाई दिनुपर्ने महासंघले सरकारसमक्ष माग गर्दै आएको थियो।

शनिबारदेखि नै अति आवश्यक पर्ने सामान ल्याउने बाहेक अठार र बीस चक्के सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

विभागले यही असोज १५ गतेदेखि २२ गतेसम्म नारायणगढबाट काठमाडौंसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको छ।

दसैं, तिहार, छठसँगै निर्वाचनमा जाने यात्रुहरू यो अवधिमा बाहिरिने महासंघले जनाएको छ। यो वर्ष दसैं चाँडो परेकाले देशभरका धेरै सडकमा खाल्डाखुल्डी र पहिरो हटिसकेको छैन। दसैंलाई लक्षित गरी भदौदेखि नै मर्मत सुरू गरिएको भए पनि वर्षा अझै पूर्णरूपमा हटिनसकेकाले सबैतिरको सडक मर्मत गर्न कठिन भएको सडक विभागले जनाएको छ। रासस