Friday, July 17

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम सार्वजनिक

नेपालअखबार, काठमाडाैं। निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ।

Advertisement

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जालमार्फत् दिएको जानकारीअनुसार उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न यही असोज २३ गते आइतबार बिहान १० देखि साँझ ५ बजेसम्म समय तोकिएको छ।

Advertisement
Advertisement

मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची त्यसै दिन ५ बजेदेखि ७ बजेसम्म प्रकाशन गरिनेछ।

Advertisement

सूची सार्वजनिक भएपछि उम्मेदवारको विरोधमा उजुरी दिन असोज २४ गते सोमबार बिहान १० देखि अपराह्न ३ बजेसम्मको समय तोकिएको छ।

त्यसपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने प्रक्रिया सुरू हुनेछ। यसका लागि निर्वाचन आयोगले असोज २४ गते अपराह्न ३ बजेदेखि २५ गते अपराह्न ५ बजेसम्मको समय निर्धारण गरेको छ।

जाँचबुझ गरी निर्णय गरेपछि असोज २५ गते अपराह्न ५ देखि साँझ ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।

उम्मेदवारको नाम फिर्ता लिन असोज २६ गते बिहान १० देखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ।

यसअनुसार असोज २६ गते नै दिउँसो १ बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने त्यसै दिन ४ बजेदेखि ७ बजेसम्म उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।

मतदान मंसिर ४ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ। रासस