Wednesday, July 29

तोकिए भन्दा बढी शुल्क लिने होटललाई जरिवाना

नेपालअखबार, तनहुँ। जिल्ला प्रशासन कार्यालय तनहुँले तोकिए भन्दा बढी शुल्क लिने दुई होटललाई रु चार लाख जरिवाना गरेको छ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिकामा सञ्चालित दुई होटललाई प्रशासन कार्यालयले रु दुई लाखका दरले जरीवाना गरेको हो।

Advertisement

व्यास नगरपालिकास्थित ग्रिनपार्क हाइवे रेष्टुरेण्ट र कल्चर भिलेज रिसोर्टले ग्राहकसँग कुनै वस्तुमा तोकिए भन्दा बढी मूल्य लिएको प्रमाणित भएपछि रु दुई-दुई लाखका दरले जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए।

Advertisement
Advertisement

‘ती दुई होटलले मूल्यसूचीभन्दा बढी मूल्य लिएर सामग्री बेचेको पटक–पटक गुनासो आएको थियो, हाम्रो टोलीले पनि स्थलगत अनुगमन गर्दा त्यो प्रमाणित भयो’, गैह्रेले भने, ‘सोही आधारमा दुई होटललाई रु दुई लाखका दरले जरीवाना गर्ने निर्णय गरेका हौँ।’

Advertisement

सहायक प्रजिअ गैह्रेका अनुसार दुवै होटललाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (ङ) बमोजिमको कसुर गरेको देखिएकाले सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (ख) बमोजिम रु दुई लाखका दरले जरिवाना गरिएको छ। उक्त जरिवाना असोज २७ गतेदेखि सात दिनभित्र प्रशासन कार्यालयको नाममा नेपाल बैङ्क दमौली शाखाको राजश्व शीर्षक नम्बर १४३१२ मा जम्मा गर्न निर्देशन दिइएको छ। ‘उक्त अवधिभर जरिवाना रकम नबुझाएमा सोही ऐनको दफा ३९ को उपदफा (४) बमोजिम थप कारवाही हुनेछ’, गैह्रेले भने।

प्रशासनको उक्त निर्णयमा चित्त नबुझेमा सात दिनभित्र उल्लेखित जरिवानाको पचास प्रतिशत रकम वाणिज्य विभाग काठमाडौँको धरौटी खातामा जम्मा गरेको सक्कलै भौचरको तेस्रो प्रतिसहित विभागका महानिर्देशक समक्ष पुनरावलोकनका लागि निवेदन गर्न सकिने जनाइएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी गैह्रेले यो निर्णयले अन्य होटललाई पनि सच्चिने मौका मिल्ने बताए। ‘अन्य होटलमा पनि यस्तो कार्य भएको हुन सक्छ, प्रशासनले जरिवाना गरेको निर्णयले अरु होटल सञ्चालकलाई पनि झस्काउन सक्ने र सचेत हुने मौका मिल्छ’, उनले भने। पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्डमा सञ्चालित होटलहरूले ग्राहकसँग तोकिए भन्दा बढी मूल्य लिने गरेको गुनासो बेला–बेलामा आउने गरेको थियो। रासस