Saturday, July 25

आज गोवर्द्धन पूजा, गोरु, बलि र हली पूजा गरिँदै

नेपालअखबार । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ ।द्वापरयुगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।

Advertisement

कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए ।

Advertisement
Advertisement

बलि, हली एवं गोरु पूजा भगवान् विष्णुले बलि राजालाई यमपञ्चकका पाँच दिन मत्र्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बलि राजाको पनि सम्झनास्वरूप पूजा आराधना गरिन्छ । यसैकारण तिहारमा देउसी भैलो खेल्नेले हामी त्यसै आएनौँ बलि राजाले पठाए भनेर भट्याउने चलन चलेको हो ।

Advertisement

वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ ।

गोरुलाई देवाधिदेव महादेवको वाहनअर्थात् साँढेका रूपमा पनि पूजा गर्ने परम्परा छ । यसैगरी वर्षभर गोरु जोत्ने हली एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा मीठा परिकार खुवाइन्छ । यसैले आजको दिनलाई हली तिहार पनि भनिन्छ । रासस