Saturday, July 25

चार वर्षमा पनि बनेन तीन किलोमिटर सडक

नेपालअखबार, चितवन। नारायणगढको सहिदचोकबाट बैकुण्ठचोक, धर्मचोक हुँदै कचपचेचोक पुग्ने सडक निर्माण अलपत्र परेको छ। ठेकेदार कम्पनीले विभिन्न बहाना बनाउँदै निर्माणमा ढिलाइ गरेका कारण सडक निर्माण अलपत्र परेको हो।

Advertisement

सडक निर्माणका लागि चार वर्षमा तीन पटक म्याद थप गरिएको छ। यो अवधिमा सडक निर्माणको ७५ प्रतिशतमात्र काम भएको छ। सडक निर्माणको बाँकी काम कात्तिक महिनाभित्र सक्ने निर्माण कम्पनी रमण शिवशक्ति जेभीका प्रोजेक्ट म्यानेजर रञ्जन ठाकुरले बताए। उनले भने, ‘नाला र सबबेसको काम सकियो अब कालोपत्र हुन्छ। एक-दुई हप्ताको काम हो, कात्तिक महिनाभर सकिन्छ।’

Advertisement
Advertisement

जेभीले नेपाल सरकारबाट २०७९ चैत २५ गतेसम्मको म्याद पाएको छ। धेरै समय लागिसकेकाले अब चैत कुर्न नपर्ने ठाकुरको भनाइ छ। उनका अनुसार अब चार सय ८० मिटर सडक बनाउन बाँकी छ। करिब ३.१ किलोमिटर रहेको सडक निर्माणका लागि सम्झौता २०७५ वैशाख २६ गते भएको थियो।

Advertisement

सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले रमण शिवशक्ति जेभीसँग यसको सम्झौता गरेको थियो। सम्झौताअनुसार २०७७ असार मसान्तसम्म निर्माण सक्नुपर्ने थियो। दश मिटर चौडाइको यस बाटो निमार्णका लागि सडकको दुबैतर्फ छदेखि सात फिट गहिरो ढल खनिएको छ। सघन सहरी विकास कार्यक्रमअन्तर्गत कालोपत्र सडक तथा ढल निर्माणकार्य प्याकेज नं २ अन्तर्गतको सात योजनामध्ये यो एक योजना हो। जसका लागि ६८ करोड २३ लाख १५ हजार आठ सय २४ मा सम्झौता भएको थियो

सहिदचोकबाट बैकुण्ठचोक, धर्मचोक र कचपचेचोकसम्मको बाटोको ठेक्का रकम भने रु ७१ करोड ३८ लाख ३५ हजार पाँच सय ७४ रहेको सहरी विकास कार्यालयका इञ्जिनियर पुजन न्यौपानेले बताए। कार्यालयले अब २१ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको उनले जानकारी दिए। रासस