Wednesday, July 29

तोसिमा कार्कीले चुनाव लड्न पाउने बाटो खुला

नेपालअखबार, काठमाडाै । सर्वोच्च अदालतले ललितपुर क्षेत्र नम्बर ३ मा स्वतन्त्र पार्टीकी तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै उनले चुनाव लड्न बाटो खुलेको छ।

Advertisement

न्यायाधीश कुमार चुडालको इजलासले यस्तो आदेश दिएको प्रवक्ता विमल पौडेलले जानकारी दिए।

Advertisement
Advertisement

‘प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी सन्दर्भबाट निवेदकलाई हुन सक्ने अपुरणीय क्षतिको स्थिति तथा सुविधाको सन्तुलन समेतको रोहबाट प्रस्तुत मुद्दाको अन्तिम टुंगो नलागेसम्म कार्कीको ललितपुर ३ को उम्मेदवारी अयोग्य हुने गरी आयोगले कात्तिक १२ मा गरेको निर्णय कार्यान्वयन नगर्नू/ नगराउनू,’ सर्वोच्चको आदेशमा भनिएको छ।

Advertisement

कार्कीले लिने भत्ता नियमित प्रकृतिको नभएको सर्वोच्चको आदेशमा उल्लेख छ।

‘लाभको पदमा बहाल रहेको भन्न निजले मेडिकल काउन्सिलको सदस्य पद नियमित पारिश्रमिक पाउने पद भएको वा नियमित जिम्मेवारीको पद भन्ने देखिन आउँदैन,’ आदेशमा भनिएको छ, ‘कुनै काउन्सिल वा संगठित संस्थाको बैठकमा भाग लिँदा पाउने बैठक भत्ता वा भ्रमण भत्ता वा सवारी खर्च जस्ता आर्थिक लाभ नियमित प्रकृतिका नहुने अवस्थाको देखिन आउँछ।’

सार्वजनिक पदमा बसेर लाभ लिइरहेका व्यक्तिले राजीनामा नदिई उम्मेदवारी दिएको भन्दै आयोगले कार्कीको उम्मेदवारी खारेज गरेको थियो।

कार्की नेपाल मेडिकल काउन्सिलकी निर्वाचित सदस्य हुन्। उनी काउन्सिलको बैठक तथा अनुगमनमा जाँदा भत्ता लिएको पाइएकोले पनि आयोग स्रोतको भनाइ छ।

तर कार्कीले भने काउन्सिलमा निश्चित तलब नहुने, बैठकमा उपस्थित हुँदा भत्तामात्रै पाउने र निर्वाचित सदस्य भएकोले नेपाल मेडिकल काउन्सिलको सदस्य पद लाभको पद नहुने धारणा पाइएको उल्लेख गर्दै आएकी छन्।

आफूले गत भदौ २८ मा पत्र लेखेर काउन्सिलको सदस्य पद लाभको पद हो वा होइन भन्नेबारे आयोगलाई सोधेको पनि उनले उल्लेख गरेकी छन्। तर यो पत्रमा आयोगले कार्कीलाई जवाफ दिएको थिएन।