Sunday, July 26

इमरान खानको आरोपप्रति पाकिस्तानी सेना कठोर

नेपालअखबार, एजेन्सि। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आफूमाथि भएको हमलाका लागि वर्तमान प्रधानमन्त्री, गृहमन्त्री र पाकिस्तानी सेनाका एक जनरललाई मुख्य जिम्मेवार ठहर गरेका छन्।

Advertisement

बिहीबार गुजरानवालामा इमरान खानमाथि एक आक्रमणकारीले गोली हानेर घाइते बनाएका थिए। उक्त हमलामा खानको पार्टीका एक कार्यकर्ताको मृत्यु हुनुका साथै अन्य केही नेता कार्यकर्ता घाइते भएका थिए ।

Advertisement
Advertisement

लाहोरको शौकत खानम अस्पतालबाट जनताका नाममा सम्बोधन गर्दै खानले तीन जनामाथि हमलाको प्रत्यक्ष आरोप लगाएका छन्। बिबिसीका अनुसार खानले प्रधानमन्त्री शाहबाज शरीफ, गृहमन्त्री राणा सनाउल्लाह र आईएसआई प्रमुख मेजर जनरल फैसल नसिरले उनको हत्याको षड्यन्त्र रचेको बताएका छन्।

Advertisement

यसैबीच पाकिस्तानी सेनाको मिडिया विंग आईएसपीआरले भने खानको आरोपलाई निराधार र गैरजिम्मेवारपूर्ण भनेको छ। एक विज्ञप्ति निकाल्दै पाकिस्तानी सेनाले झुटा आरोप लगाउनेमाथि कारबारी गर्न सरकारलाई अनुरोध गरेको छ। ‘सेना र यसका अधिकारीहरू विरुद्ध झूटा आरोपका लागि जिम्मेवार व्यक्तिहरू विरुद्ध कानुनी कारबाही गर्न पाकिस्तान सरकारलाई अनुरोध गरिएको छ,’ पाकिस्तानी सेनाले आफ्नो विज्ञप्तिमा भनेको छ।

पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहले पनि खानको आरोप अस्वीकार गरेका छन्। प्रधानमन्त्री शाहबाज सरिफले घटनाको दिन निन्दा गर्दै छानबिनको आदेश दिइसकेका छन्।

केही दिनअघि पाकिस्तानको निर्वाचन आयोगले खानलाई चुनाव लड्न प्रतिबन्ध लगाइदिएको थियो। गत अप्रिलमा बहुमत गुमाएपछि खानले संसद विघटन गरेर नयाँ चुनाव घोषणा गरेका थिए। सर्वोच्च अदालतले उनको निर्णय उल्ट्याइदिएपछि उनी प्रधानमन्त्री छोड्न बाध्य भएका थिए।

सत्ता छोड्नु परेपछि उनले विदेशीको इशारामा आफ्नो सरकार ढालेको भन्दै विभिन्न सहरमा र्‍याली गर्दै आएका छन्। प्रतिबन्ध लगाउने निर्वाचन आयोगको निर्णयविरूद्ध पनि उनले कानुनी उपचार खोज्ने बताएका छन्।