Tuesday, July 7

जसले चलाउँछिन् ग्रेडर मेसिन

नेपालअखबार, दाङ। दाङको घोराही सहरदेखि गाउँसम्म सडकको ट्याक बनाउने काममा व्यस्त छिन्, अनिता थारु। उनी चार वर्षदेखि दाङलगायत ठाउँमा सडक तथा पुल निर्माण गर्न ग्रेडर मेसिन चलाउँदैछिन्।

Advertisement

पछिल्लो समय भने उनले घोराही उपमहानगरपालिका भित्रका विकास निर्माणका काममा ग्रेडर मेसिन चलाउँदै आएकी छन्।

Advertisement
Advertisement

उनले १२ कक्षासम्म पढेकी छन्। आर्थिक अवस्था कमजोर हुँदा पढाइलाई निरन्तरता दिन नसकेको उनले बताइन्।

Advertisement

उनले सहायक ग्रेडर अपरेटरका रुपमा एक वर्ष काम गरेपछि ग्रेडर चलाउन थालेकी हुन्।

निर्माणको क्षेत्रमा काम गर्न कठिन भए पनि आत्मविश्वास र मेहनतले सफलता हासिल गर्दै गएको उनको भनाइ छ।

उनले २०७६ भदौमा तुलसीपुरमा परीक्षा दिएर लाइसेन्स पनि लिएकी थिइन्।

अन्य सवारी साधनभन्दा चलाउन कठिन भए पनि अनुभवले गर्दा सहज लाग्ने गरेको उनले बताइन्।

बेरोजगार बस्नुभन्दा कुनै पनि सीप सिकेर काममा लाग्न उनको अरुलाई सुझाव छ।

निर्माणका क्षेत्रमा महिलालाई काम गर्न कठिनाइ भए पनि आफ्नो कामबाट सन्तुष्ट रहेको उनले बताइन्।

‘निर्माणको क्षेत्रमा काम गर्न गाह्रो भए पनि मलाई यही पेसामा सन्तुष्टि छ। धेरै पढेको भए ठूलो अपेक्षा हुन्थ्यो र अरु काम खोजिन्थ्यो होला। पढ्न सकिएन। त्यसैले ग्रेडर अपरेटर नै मेरा लागि ठीक छ,’ उनले भनिन्।

पहिले-पहिले महिलाले पनि ग्रेडर मेसिन चलाउँछन् भनेर धेरैले हेर्न आउने गरेको उनले बताइन्। ‘अहिले सबैलाई सामान्य लाग्न थालिसकेको छ’, उनले भनिन्। रासस