Sunday, August 2

गण्डकीका मन्त्री खड्कालाई बर्खास्त

नेपालअखबार, पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्‍णचन्द्र नेपाली पोखरेलले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कालाई हटाएका छन्।

Advertisement

आज मन्त्री खड्कालाई जिम्मेवारीबाट हटाएर मुख्यमन्त्री पोखरेलले उक्त मन्त्रालय आफैँले हेर्ने गरी राखेका हुन्। मुख्यमन्त्री पोखरेलले मन्त्री खड्कालाई हटाएको पत्र प्रदेश प्रमुख कार्यालयमा पठाएका छन्।

Advertisement
Advertisement

मन्त्री खड्का नेपाली कांग्रेसका निवर्तमान सांसद हुन्। उनी २०७४ सालमा समानुपातिक सांसद भएका थिए।

Advertisement

पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा खड्कालाई मन्त्रीबाट हटाइएको मुख्यमन्त्री पोखरेलनिकट स्रोतले जनाएको छ।

खड्का कास्की क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र (ख) मा उम्मेदवार हुन आकांक्षी थिए। तर यहाँ कांग्रेसले विन्दुकुमार थापालाई उम्मेदवार बनाएपछि उनी असन्तुष्ट थिए। टिकट दौडमा दुई मन्त्रीको रस्साकस्सीले उनीहरुबीच सम्बन्धसमेत बिग्रिएको थियो।

खड्का अखण्ड पार्टीबाट २०७४ सालअघि कांग्रेसमा समाहित भएका थिए।

‘पार्टीलाई असहयोग गरेपछि उहाँलाई मन्त्रीबाट बर्खास्त भएको हो,’ गण्डकीका एक मन्त्रीले भने, ‘चुनावमा पनि असहयोग गर्ने मन्त्रीलाई बहाल राख्न आवश्यक छैन।’

खड्काले भने निर्वाचन आचारसंहिताले गर्दा चुनावी अभियानमा लाग्न नमिलेको बताउँदै आएका थिए।

यसअघि मुख्यमन्त्री पोखरेलले ऊर्जा मन्त्री हरिशरण आचार्यलाई बर्खास्त गरेका थिए।

गोरखा २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रदेश सभाका उम्मेदवार फणिन्द्र देवकोटाको चुनाव प्रचारमा नहिँडेको आरोपसहित आचार्यलाई मन्त्रीबाट बर्खास्त गरिएको थियो। तर आचार्य हिजोआज सत्ता गठबन्धनका उम्मेदवारहरू प्रचण्ड लगायतको चुनावी कोणसभामा सहभागी भइरहेका छन्।