
नेपालअखबार, । नेकपा एकीकृत समाजवादीका नेता एवम् सहरी विकास मन्त्री मेटमणि चौधरीले अब लुम्बिनी प्रदेशका मुख्यमन्त्री, मन्त्री र सांसद सबैको सपथ प्रदेशको स्थायी राजधानी दाङको देउखुरीबाटै हुने बताएका छन् । कुराकानीमा बोल्दै चौधरी प्रदेशको सार्वभौम संसदले गरेको निर्णयमा कर्मचारी वा कुनै अमुक नेताहरूको विरोधमा नरोकिने जिकिर गरे ।
‘प्रदेशसभाको दुई तिहाई बहुमतले प्रदेशको राजधानी राप्ती उपत्यका दाङ देउखुरीस्थित भालुबाङमा राख्ने निर्णय भइसकेको छ । अब कर्मचारीले आन्दोलन गर्नु/नगर्नुको कुनै अर्थ छैन’ चौधरीले भने, ‘अब स्थायी राजधानी दाङबाटै सञ्चालन हुन्छ । सांसदसहित मुख्यमन्त्री र मन्त्रीहरूको सपथ दाङबाटै हुन्छ ।’ दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गर्ने चौधरीले प्रदेशको स्थायी राजधानीका विषयमा अनावश्यक बखेडा नझिक्न आग्रह गरे ।
एमालेले प्रदेशको स्थायी राजधानीका विषयमा डबल रोल खेलेको भन्दै चौधरीले आपत्ति जनाए । ‘एमालेले सधैं डबल रोल खेल्छ । डबल स्ट्याण्ड राख्छ । त्यसले पनि कुनै अर्थ राख्दैन । अब राजधानी दाङमा भयो भयो कसैले रोकेर रोकिँदैन’ चौधरीले भने ।

