Friday, July 17

एक भारी घाँसकै लागि आधा दिन

नेपालअखबार, काठमाडाैं । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१ की गमीसरा घर्ती उमेरले ४९ वर्ष पुगिन् ।

Advertisement

काम गर्नसक्ने उमेरदेखि घरमा पलिएका गाई भैँसीलाई घाँस काट्न सुरु गरेकी उनलाई पछिल्ला केही वर्ष भने घाँसपात गरेर गाई भैँसीपालन गाह्रो हुँदै गएको छ ।

Advertisement
Advertisement

गमीसरालाई जस्तै लालमाया दलार्मीलाई पनि घाँसपात गरेर गाईभैँसी पाल्न निकै गाह्रो हुन लागेको छ ।

Advertisement

नजिकैको सामुदायिक वनले घाँस पात काट्नसमेत प्रतिबन्ध लगाएपछि कावासोती–१ हात्तीखोरका सुकुम्बासी बस्तीका महिलालाई दुई चार पैसा जोहो गर्न पालेका वस्तु भाउलाई कसरी पाल्ने हो भन्ने चिन्ताले सताएको छ ।

बिहान नौ बजे नै हतार हतार खाना खाएर घाँसपात काट्न हिँड्नेहरुलाई घाँसको भारी बोकेर फर्कन पाँच-छ घण्टा लाग्ने कावासोती–१ की लालमाया दलार्मीले बताइन् ।

‘घर नजिकैको वनमा घाँसपात काटे जरिवाना तिर्नपर्छ, गाई बाख्रा पाल्नै पर्‍यो, घाँसकै लागि आधा दिन बिताउनुपर्छ’, उनले भनिन् ।

सुकुम्बासी बस्ती भएकाले यस ठाउँका अधिकांश परिवारसँग खेतीपाती गर्ने जमिनसमेत छैन । यो बस्तीको आम्दानीको स्रोत भनेकै गाई, बाख्रा, कुखुरा, बङ्गुरलगायतका घरपालुवा जनावर हुन् ।

गाई र बाख्राका लागि घर नजिकै चरनसमेत नभएकाले घाँसकै लागि आधा दिन खर्चिनुपरेको गमीसरा घर्तीले बताइन् । ‘घर नजिकै वस्तु चराउने ठाउँ छैन, वनले घाँस काट्न दिँदैन, घाँस रोप्ने जग्गासमेत छैन, गाई बाख्राकै लागि भए पनि घाँस काट्न दिनभर जसो लाग्छु’, उनले भनिन् ।

यो ठाँउमा घाँसपात गर्न जाने भने अधिकांश ४० वर्षमाथिका रहेका हुन्छन् । नयाँ पुस्ताले घर गोठको काममा मन नलगाउँदा बाध्य भएर आफूहरुनै घाँसपातमा हिँड्नुपरेको सोही स्थानकी टीका मगरले बताइन् ।’छोरी बुहारीले जाँगर गर्दैनन्, गाईबस्तु भोको राख्न भएन ५० वर्ष भइसके घाँस काट्ने दुःखले कहिलै छोडेन’, उनले गुनासो गरिन्, ‘छोराहरु कमाउन जान्छन्, छोरी बुहारी घाँसपात काट्न गोठमा काम गर्न जाँगर गर्दैनन् ।’

वन मासिने क्रम बढेपछि घाँसपातमा समेत प्रतिबन्ध लगाउनुपरेको बस्ती नजिकै रहेको महाराजा सामुदायिक वनका अध्यक्ष तेजेन्द्रकुमार सुनार बताउँछन् ।

अलि पहिलेपहिले घाँसपात काट्न दिइएको भए पनि घाँस काट्ने क्रममा सालको हाँगाबिगा र साना बोटहरुै काट्ने क्रम बढेकाले घाँसपातमा रोक लगाउन परेको अध्यक्ष सुनारले बताए । ‘सालको पात र सामान्य घाँस काट्न दिँदा वननै मासिने डर भयो, दाउराका लागि समय मिलाएर वन खुला गर्र्ने गरे पनि घाँसपात रोकेका छौं’, उनले भने । रासस