Friday, July 17

पोखरामा नेपाल लिटरेचर फेस्टिभल पुस ६ गतेदेखि सुरू

नेपालअखबार, पोखरा । पुस ६ गतेदेखि पोखरा फेवातालको किनार कला, साहित्य, संगीतदेखि देश, राजनीति र समाजका हरेक विषयका विचार, विमर्श र मन्थनले गर्माउने भएको छ । १० औं नेपाल लिटरेचर फेस्टिभलमा दर्शकले रुचीअनुसारका सत्र र पात्रसँग साक्षात्कार गर्न पाउने भएका हुन् ।

Advertisement

पुस ११ गतेसम्म चल्ने शब्दहरुको उत्सावमा ५० भन्दा बढी सेसन, सांगीतिक साँझ र थप रोचक विर्मश हुने छ ।

Advertisement
Advertisement

फेस्टिभलमा पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मादेखि जनमत पार्टीका अध्यक्ष सीके राउतसम्मलाई सुन्न र हेर्न पाइने आयोजक बुकवर्म फाउण्डेसनका निर्देशक निरज भारीले बताए ।

Advertisement

फेस्टिभलमा सन् २०२२ का बुकर पुरस्कार विजेता श्रीलंकाली लेखक सेहान करुणातिलका, लेखक एवं पत्रकार अक्षय मुकुल, सह–प्राध्यापक एवं लेखक सुकेतु मेहता, लेखक एवम् फिल्म निर्माता सवा करिम खान, लेखक श्रेयना भट्टाचार्यलगायत अन्तर्राष्ट्रिय चर्चित व्यक्तिहरु पनि सहभागी हुने भएका छन् ।

गभर्नर महाप्रसाद अधिकारी, डा. भगवान कोइराला, मास्टरसेफ सन्तोष साह, पत्रकार एवं लेखक विजय कुमार, लेखक सम्राट उपाध्याय, लेखक बुद्धिसागर, सुविन भट्टराई, संगीतकर्मी रञ्जित गजमेर, अभिनेत्री स्वस्तिमा खड्का, पत्रकार रमा सिंह, गायिका झुमा लिम्बूलगायतको प्रस्तुति र छलफल हुने छ ।

फेस्टिभलको पूर्वसन्ध्यामा कवि नवराज पराजुली र उज्ज्वल सागरको प्रस्तुति रहने छ । फेस्टिभलको पहिलो दिन ७ गते गोपाल योञ्जनको सम्झनामा गोपालय सांगीतिक कार्यक्रम हुने छ । यस पटकको फेस्टिभलमा ‘शब्दशक्ति उत्सवको एक दशक’ नारा दिइएको छ ।

फेस्टिभलका सह–निर्देशक सुजाता खत्रीले कोरोना कहरपछिको यो यो फेस्टिभल हरेक हिसाबले विशेष हुने बताइन् । आयोजक संस्थाका सदस्य भरत कोइराला र केशवशरण लामिछानेले देशभित्रका मात्रै नभएर अन्तर्राष्ट्रिय लेखक तथा विभिन्न चर्चित व्यक्तिहरुलाई फेवा किनारमा पाउनु पोखरेलीका निम्ति ठूलो सौभाग्य भएको बताए ।

नेपाल लिटरेचर फेस्टिभलका निर्देशक नीरजले सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डलाको सानो प्रांगणबाट नेपाल ट्रस्टको स्वामित्वमा रहेको पोखराको बाराहीघाटसम्म दशौं संस्करणका रुपमा आइपुगेको बताउँछन् ।

‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने मूल नाराका साथ सुरु भएको नेपाल लिटरेचर फेस्टिभलले कला, साहित्यको मात्रै प्रवर्द्धन नभई विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत उचाइ दिँदै आएको उनी बताउँछन् ।