Monday, April 20

सुविन भट्टराई : कथाकी पात्रदेखि इजोरियासम्म…

नेपालअखबार, पोखरा। सञ्चारकर्मी अच्युत घिमिरेको ‘श्रुतिसंवेग’मा एकपटक लगातार इमेल आउन थाल्यो, ‘समर लभ पढिदिनुपर्यो।’
लगातार इमेल आइसकेपछि उनले सुविन भट्टराईको ‘समर लभ’ पढे। यति धेरै प्रतिक्रिया आउन थाल्यो उनी उनी चकित परे। एकैपटक ४ हजार स्रोताले रेडियो सुन्न थाले।
उनै चर्चित लेखक सुविनसँग भेट्ने समय मिलाए। ‘भेट्दा मलाई उनी सुविन हैन जस्तो लाग्यो। यति चर्चित मान्छे, तर यति सरल,’ अच्युतले सुनाए। ठूलो युवा जमातमा पठनसंस्कृति बढाउने लोकप्रिय लेखक सुविनसँग जमिरहेका थिए सञ्चारकर्मी घिमिरे। पोखरामा जारी १०औं नेपाल लिट्रेचर फेस्टिभलको एउटा सेसन थियो, ‘कथाकी पात्रदेखि इजोरियासम्म।’
केही महिनाअघिमात्र सुविनको नयाँ उपन्यास ‘इजोरिया’ बजारमा आयो। सुविनका अनुसार उक्त पुस्तक हालसम्म ६० हजार प्रति छापिइसक्यो। त्यो बजारमा सकिन लागेको संकेत पाएका छन् उनले।

प्रिय सुफीसम्म’ प्रेम कथा लेखेका सुविनलाई यसपटक प्रेमकथादेखि दिक्क लागेको थियो। प्रेमदेखि मा हैन लोकेसनदेखि पनि। उनले सहरी युवाको प्रेमका विषयलाई कथा बनाउँथे। यसपटक उनले लोकसेन मधेश रोजे र मधेशका पात्रका कथा भने। उनकै भाषामा भन्ने हो भने यसपालि सुविनले ‘स्टेयरिङ’ घुमाए। ‘इजोरियासम्म आइपुग्दा लेखक एउटा मात्र जोनमा बस्ने कि नबसने प्रश्न जान्छ। काठमाडौं छाडेर मधे जाने बित्तिकै लेखकका टाउको दुखाइ हराए। गर्नका लागि गरेको भन्दा नि रियल्ली इन्जोय गरेँ। जिन्दगीमा नयाँ कुरा सिक्ने मौका पाएँ,’ सुविन भन्छन्।

Advertisement

इजोरियाबाट उनले मधेशमा ठूलो संख्यामा पाठक बढाएको बताउँछन्। उनका अनुसार इजोरिया कहिल्यै नेपाली साहित्य नपुगेको ठाउँमा इजोरिया लगेर राखियो।
घिमिरेले सुविनबारे थप करा भने,‘उहाँको लेख्ने बाहेक अरु कुनै काम छैन। लेखेरै बाँचेका छन्, त्यो पनि कार चढेर,’ घिमिरेले भने। र उनै घिमिरेले सुविनलाई सोधे, ‘तपाईंलाई सन्तुष्टिचाहिँ कतिबेला हुन्छ?’
उनी लेखनका विभिन्न तह सम्झन्छन्। ‘लेखनको सन्तुष्ट आफ्नू छ। लेखेका कुरासँग आफू कति विश्वस्थ हुनसक्नुहुन्छ? पाठकको तहसम्म जाने अर्को लेखाइ हुन्छ। जब पाठकले राम्रो भन्छ सन्तुष्टिको अर्को तह निर्माण हुन्छ,’ सुविन भन्छन्।

अच्युतले आफ्नो पब्लिकसनमा सय वटा पाण्डुलिपीमा ५० वटा सविनै प्याट्रनका उपन्यास आउने बताउँछन्। उनी सोध्छन्, ‘सुरुमा लेखक बन्न सजिलो छ?’
सुविन सुरुवाती दिनमा कथा लेख्दा र प्रकाशस गर्न ब्यहोर्नुपरेको सास्ती सम्झन्छन्। ‘कथाकी पात्र’ उनले फरक फरक समयमा लेखेर संग्रहण गरेका कथा संग्रह हो। यो प्रकाशन गर्नुअघि आफूल् झोलामा पाण्डुलिपी हालेर हिँडेको सम्झन्छन्। प्रकाशक नभेटेपछि उनले आफ्नै लगानीमा पुस्तक प्रकाशन गरेका थिए।
‘कथाकी पात्र’ले पाठक आकर्षित गरेर ‘समर लभ’ले प्रकाशक पायो। अहिले उनलाई धेरैले त ‘समर लभ’कै लेखक भनेर चिन्छन्। अहिले सुविनलाई धेरै नयाँ पुस्ताले पाण्डुलिपी पढिदिनु भनेर पठाउँछन्। ‘पहिले म झोलामा पाण्डुलिपी बोकेर पढिदिनुस् न भन्थें। म त्यो सम्झन्छु। अनि दराजबाट पाण्डुलिपी निकालेर पढ्छु,’ उनी भन्छन्। ‘अरुले जीवनभर लेखेको किताब हिट नहुने। तपाईंले फ्याफ्याट लेखेको किताब हिट हुन्छ। यसको जादू के छ?’ अच्युतको जिज्ञासामा उनी भन्छन्, ‘पाठकको विश्वास, सरल भाषा शैलीले हो।’ उनी नयाँ पुस्ताबाट पनि धेरै सिकिरहेको बताउँछन्।