Friday, July 10

गर्भवती खोज्दै वडावडामै पुग्छ यो गाउँपालिका

नेपालअखबार, रूकुम । रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाले वडावडामै पुगेर गर्भवतीको स्वास्थ्य जाँच गर्ने गरेको छ। उपाध्यक्ष स्वास्थ्य कार्यक्रमअन्तर्गत गाउँपालिकाले प्रत्येक वडामा पुगेर गर्भ जाँच तथा उनीहरूको स्वास्थ्य परीक्षण गर्ने गरेको हो।

Advertisement

पालिकाले गर्भवतीलाई सेवा दिने उद्देश्यले प्रत्यक वडामा तीन/तीन महिनामा शिविरको आयोजनागर्ने गरेको गाउँपालिका उपाध्यक्ष भूपेन्द्र बुढाले जानकारी दिए। उनका अनुसार उपाध्यक्ष स्वास्थ्य कार्यक्रमअन्तर्गत गर्भवती जाँच कार्यक्रमले पालिकाका विकट क्षेत्रका गर्भवतीलाई राहत मिलेको छ।

Advertisement
Advertisement

पालिकाले दुई महिनायता गाउँपालिकाको १४ वटै वडामा पुगेर एक सय २१ गर्भवतीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ। भिडिओ एक्सरे, स्वास्थ्य जाँच र परामर्श सेवा दिइएको उपाध्यक्ष बुढाले जानकारी दिए।

Advertisement

‘केहीको अवस्था सामान्य नै छ,’ उपाध्यक्ष बुढाले भने, ‘उल्टो अवस्थामा रहेको, सालनाल तल झरेको पनि भेटिएकाले सुत्केरी हुने बेलामा सुविधा सम्पन्न अस्पतालमा जान परामर्श दिएका छौं।’

गर्भावस्थामा पुर्‍याउनुपर्ने ध्यान, खानपान, हेरविचारलगायत कुरा सिकाएर आवश्यकताअनुसार केही औषधि पनि गर्भवतीलाई दिइएको छ। एक सय ५० जना महिलाको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ। स्वास्थ्य संस्थामा आएर नियमित गर्भ जाँच गरेमा मात्र निःशुल्क स्वास्थ्य बीमा गरिदिने व्यवस्था भएकाले स्वास्थ्य सस्थामा आउनेको संख्या वृद्धि हुने विश्वास उनले गरे।

गर्भवतीसँग उपाध्यक्ष कार्यक्रमअन्तर्गत गाउँपालिकाले स्वास्थ्य संस्थामा छोरी जन्मेमा निःशुल्क बीमा गरिदिने व्यवस्था गरेको छ। गर्भ जाँच गराएको वर्ष र स्वास्थ्य संस्थामा छोरी जन्मेको वर्षमा गाउँपालिकाले परिवारका पाँच सदस्यको निःशुल्क स्वास्थ्य बीमा गरिदिने व्यवस्था गरेको छ। यस कार्यले स्वास्थ्य संस्थामा सर्वसाधारणको पहुँच वृद्धि गर्ने देखिएको छ।

यसका साथै यस कार्यक्रमले घरेलु हिंसा, लैंगिक हिंसा, यौन हिंसामा परेका महिलाहरूसँग उपाध्यक्ष कार्यक्रम पनि सञ्चालन गरिरहेको छ। यसका लागि गाउँपालिका उपाध्यक्षसँग सिधा सम्पर्क हुनेगरी हटलाइन नम्बर सेवा सञ्चालन भएको छ। थप परामर्श तथा आर्थिक सहयोगका पनि गर्न सकिने जनाइएको छ। रासस