Saturday, July 18

अपराधी खोज्ने प्रेस विज्ञप्तिबाट परम्परा सुरू भयो: सांसद खतिवडा

नेपालअखबार, काठमाडाैं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृह मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी अपराधी खोज्ने परम्परा सुरू भएको भन्दै प्रश्न गरेका छन्।

Advertisement

शनिबार जारी प्रतिनिधि सभाको बैठकमा बोल्दै खतिवडाले गृह मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी अपराधी खोज्ने परम्पराको सुरूवात गरेको बताएका छन्। उनले गृह मन्‍त्री रवि लामिछानेप्रति लक्षित गर्दै प्रश्‍न गरेका हुन्।

Advertisement
Advertisement

‘भर्खरै गृह मन्त्रालयबाट एउटा सूचना जारी भएको पत्र आयो। नेपालको इतिहासमा अपराधीलाई खोज्दै जाँदा प्रेस विज्ञप्ति निकालेर खोज्दै जाने परम्पराको सुरूआत भएको छ,’ उनले भने, ‘यो गृह मन्त्रालयमा पदवहाल गर्नुभएका धेरै मन्त्री यो संसदमा हुनुहुन्छ। गृह मन्त्रालय, परराष्ट्र, रक्षा मन्त्रालय जस्तो संवेदनशील मन्त्रालयमा कतिपय विषयमा प्रेस विज्ञप्तिबाट अपराधी खोज्ने परिपाटीको विकास हुने को भने मुलुक कहाँ जाने हो? बढो चिन्ताको विषय बनेको छ।’

Advertisement

यसअघिको संसदमा खतिवडाले हत्या आरोपमा फरार रहेका एमाले सांसद लक्ष्मी कोइरी महतोलाई पक्राउ नगरेको भन्दै प्रश्न उठाएका थिए। सांसद कोइरी सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा फरार अभियुक्त हुन्। त्यसको जवाफमा गृहमन्त्री लामिछानेले विधि पद्धति अनुसार चल्ने बताएका थिए।

त्यसैगरी शुक्रबार साँझ गृह मन्त्रालयबाट विज्ञप्ति जारी भएको थियो। जसमा मन्त्रालयबाट पटक/पटक मौखिक जानकारी दिएको उल्लेख थियो। यस्तै मन्त्रालयले प्रहरी प्रधान कार्यालयको ध्यानाकर्षण गराएका थिए।