Wednesday, July 29

कुटपिटबाट विद्यार्थी घाइते भएपछि प्रधानाध्यापक पक्राउ

नेपालअखबार, तनहुँ। तनहुँको घिरिङ गाउँपालिकाको चन्द्रज्योति माध्यमिक विद्यालयका विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले प्रधानाध्यापक प्रेम थापालाई पक्राउ गरेको छ।

Advertisement

होस्टेलमा बसेर एसइई परीक्षाको पूर्वतयारी गरिरहेका ४२ विद्यार्थीले शर्तपालन नगरेको भन्दै प्रअ थापाले उनीहरुरूलाई कुटपिट गरेको आरोप छ।

Advertisement
Advertisement

उक्त होस्टलमा बसेर पढ्दै आएकी भीमाद नगरपालिका–४ बरण्डाँडाकी लिलामाया आलेलाई सजाय दिने क्रममा कुटपिट गर्दा उनी घाइते भएकी थिइन्।

Advertisement

लठ्ठीले हान्दा चोट लागेर घाइते भएकी छात्राको बेलचौतारास्थित जिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार केन्द्रमा उपचारपश्चात घर फर्किएको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी निरीक्षक यामप्रसाद अर्यालले जानकारी दिए।

राम्रोसँग पढ्नु भन्ने हेतुले सामान्य कुटपिट गरेको प्रअ थापाको भनाइलाई उद्धृत गर्दै निरीक्षक अर्यालले बताए। अन्य विद्यार्थीको अवस्था सामान्य रहेको उनले बताए।

होस्टेलमा बसेर अध्ययन गरेका विद्यार्थीको लिएको ‘टेस्ट’ परीक्षामा अधिकांश विद्यार्थीले सही उत्तर नलेखेपछि सजाय स्वरुप पिटेको स्वीकार प्रअ थापाले गरेको निरीक्षक अर्यालले जानकारी दिए।

घाइते विद्यार्थीका अभिभावकले कुटपिट गर्ने शिक्षकलाई विद्यालयबाट निकाल्नुपर्ने माग गर्दै विद्यालय परिसरमा दबाब दिएका थिए।

गणित विषयको परीक्षामा अधिकांश विद्यार्थीले राम्रो नतिजा नल्याएपछि एक हप्ता अघिको शर्त पूरा नगरेको भन्दै प्रअ थापाले पिटेको जानकारी पाएको गाउँपालिकाका शिक्षा शाखाका प्रमुख बाबुराम गैह्रेले बताए।

कुटपिट गर्ने शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले बताए।रासस