Saturday, April 18

आत्मदाह घटनाबारे न्यायिक आयोग गठनको माग

नेपालअखबार, काठमाडाैं ।  प्रतिनिधिसभा बैठकमा नयाँ बानेश्वरमा प्रेमप्रसाद आचार्यले आत्मदाह गरेको घटनाको सम्बन्धमा छानबिन गर्नुपर्ने माग उठेको छ।

प्रतिनिधिसभाको आजको विशेष समयमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का प्रकाश ज्वालाले आचार्यको आत्मदाहको घटनाका बारेमा छानबिन गर्न न्यायिक आयोग गठनको माग गरेका हुन्।

Advertisement

यसैगरी जनता समाजवादी पार्टी नेपालका राजकिशोर यादवले आचार्यको आत्मदाहको विषयमा संसद्मा केही विशेष प्रस्ताव आउनुपर्नेमा आउन नसक्नु दुःखद् भएको भनाइ राखे।

बैठकमा नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठले निर्दोष थारु बन्दीका लागि आफ्ना पार्टीले निरन्तर आवाज उठाए पनि रिहाइ हुन नसकेको दुःखेसो गरे।

नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले वीर अस्पतालमा आइसियु शैय्या नभएर जनताले निजी अस्पतालमा चर्को मूल्य तिर्न बाध्य भएको हुँदा उक्त अस्पतालमा आइसियुको शय्या थप गर्न आग्रह गरे।

स्वतन्त्र सांसद प्रभु साहले कालो बजारी नियन्त्रण गर्ने, नापतौल हेर्ने र गुणस्तर कायम गर्ने निकाय भए पनि त्यसको काम प्रभावकारी हुन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराए।