Wednesday, July 22

म्याद सकियो, सकिएन कालोपत्र

नेपालअखबार, बागलुङ। बागलुङको काठेखोला गाउँपालिका–७ रेश जाने सडक कालोपत्र गर्ने जिम्मा पाएको निर्माण कम्पनीले म्याद सकिँदासम्म कालोपत्रको काम थालेको छैन।

Advertisement

उक्त सडकमा एक वर्षदेखि निर्माण व्यवसायी काममा नफर्कंदा यात्रुलाई सास्ती भएको छ।

Advertisement
Advertisement

संघीय सरकार र स्थानीय काठेखोला गाउँपालिकाको साझेदारीमा रु नौ करोड लागत अनुमान गरिएको सडकको कालोपत्रको ठेक्का रु ६ करोड ७१ लाखमा सम्झौता भएको थियो।

Advertisement

दुई वर्षमा सडक कालोपत्र सक्ने गरी एक्लेखेतदेखि काफलबोटसम्मको सडक कालोपत्रको जिम्मा पाएको जोशी/निशान/आचार्य जेभी एक वर्षदेखि काममा फर्किएको छैन। ठेक्काको म्याद २०७९ साल जेठ २६ गते सकिए पनि हालसम्म निर्माण व्यवसायी काममा नफर्केको हो।

सडक कालोपत्र भइसक्ने समयमा बल्ल निर्माण व्यवसायी सम्पर्कमा आएर म्याद थप्ने गरी प्रक्रियामा गएको काठेखोला गाउँपालिका–७ का वडाध्यक्ष प्रेम लामिछानेले बताए।

‘सडक निर्माणमा ढिलाइ भएको छ, निर्माण व्यवसायीले कोरोनाका कारण काम गर्न नसकेको बताएको छ, तर कोरोना मत्थर भएकै एक वर्ष भइसक्यो अझै काम थालेको छैन, ठेक्का सम्झौतापश्चात् सडक चौडा पार्ने, नाली बनाउने कार्य गरी सडकको जम्मा ४५ प्रतिशत मात्रै काम भएको देखिन्छ’, उनले भने, ‘गाउँपालिकामा पहिलो पटक रेश जाने सडक कालोपत्र गर्ने भए पनि निर्माण व्यवसायीको लापरबाही देखिएको छ, अहिले म्याद थप गर्ने र काममा फर्कने सहमति भएको छ।’

उनका अनुसार कोरोनाका कारण असार मसान्तसम्म म्याद थप्ने प्रावधान भएकाले सोही समयसम्म म्याद थप गर्न काठेखोला गाउँपालिकाले सहमति जनाइसकेको छ।

गाउँपालिकाको गौरवको योजनाका रूपमा रहेको गाउँपालिकाको केन्द्रबाट रेश जाने सडक कालोपत्रका लागि ठेकेदार कम्पनीलाई गाउँपालिकामा बोलाएर ताकेता गरिएको र एक महिनाभित्रै काममा फर्कने सहमति भएको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए।

‘सडक कालोपत्रमा ढिलाइ भएकै छ तर हामीले समन्वय गरेर मात्रै काम अघि बढ्ने देखियो म्याद थप गर्न सहमति दिएका छौं’, निर्माण व्यवसायीले काम तुरून्तै थाल्ने आश्वासन दिनुभएको छ’, उनले भने, ‘जतिसक्दो कालोपत्र सक्न भनेका छौं, हामी निरन्तर निर्माण व्यवसायीलाई दबाब दिएका छौं।’

सडक चौडा पार्ने र कालोपत्रका लागि पूर्वाधार निर्माणतर्फ ६० प्रतिशत काम सकिएको निर्माण व्यवसायीको दाबी छ।

कोरोनाका कारण काममा ढिलाइ भए पनि सडक म्याद थप गर्दा साथ कालोपत्रका लागि काम थाल्ने जोशी/निशान/आचार्य जेभीका आधिकारिक प्रतिनिधि प्रकाश आचार्यले जानकारी दिए।

‘धेरै पूर्वाधारको काम भएको छ, कोरोनापछि हाम्रो म्याद सकियो म्याद थप गर्ने सहमति भएको छ, थप भएपछि काममा फर्कंन्छौं’, उनले भने, ‘सडकमा केही नालीको कामसहित कालोपत्रको काम बाँकी छ, अहिले चार किलोमिटर सडकमध्ये एक किलोमिटर सडक ढलानसमेत गरिनेछ।’ रासस