Wednesday, July 22

ग्वार्कोमा सवारी चाप कम गर्न कोटेश्वरबाटै ट्राफिक डाइभर्ट गरिने

नेपालअखबार, काठमाडाैं। ललितपुरको ग्वार्कोमा ‘फ्लाइ ओभर’ निर्माणका कारण देखिएको सवारी साधन चापको समस्या समाधान गर्न ट्राफिक प्रहरीले सवारी साधन अन्यत्र मोड्न लगाउने (ट्राफिक डाइभर्ट) योजना बनाएको छ।

Advertisement

कोटेश्वरदेखि एकान्तकुनासम्म चल्ने सवारीसाधन चक्रपथभन्दा भित्र वा बाहिरी सडकबाट चल्दा जाममा कम हुने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको भनाइ छ।

Advertisement
Advertisement

केही दिनयता सवारी साधन दुई घण्टासम्म पनि रोकिने अवस्था आएपछि ट्राफिक डाइभर्ट गर्नुपर्ने अवस्था आएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए।

Advertisement

सडक विभागले चार लेन सडकको बीचमा निर्माण सुरू गरेसँगै सवारी साधन सञ्चालनमा अवरोध सिर्जना भएको छ।

हाल बालकुमारी पुलदेखि ग्वार्को चोकसम्म सडक छेउका दुई–दुई लेनमा मात्रै यातायात सञ्चालन भइरहेको प्रवक्ता भट्टले जानकारी दिए।

अहिले सर्भिस लेन र सर्भिस ट्र्याकबाट मात्रै सवारी साधन चलिरहेका छन्। ‘फ्लाइ ओभर’को निर्माण सकिन एक डेढ वर्ष लाग्ने र तबसम्म उक्त रुटमा चल्ने सवारी साधनले विकल्प खोज्नुपर्ने उनको भनाइ छ।

उनका अनुसार कोटेश्वरदेखि ललितपुरतर्फ जाने सवारी साधन बालकुमारी पुलको बाटो नभई जडीबुटीदेखि टिकाथली वा इमाडोल हुँदै सातदोबाटो पुग्न सक्ने उनको भनाइ छ।

‘लुभू, इमाडोल जानेहरू यही सडकको प्रयोग गर्न सक्छन्’, उनले भने, ‘यसो गर्दा सडकमा ट्राफिक जाम कम पनि हुन्छ।’

निर्माण सुरू भएपछि सोही सडकमा सबै गाडी गुडाउँदा समस्या हुने भएपछि सवारी साधन व्यवस्थापनका लागि डाइभर्ट गर्नुपर्ने सडक विभागका प्रवक्ता भीमार्जुन अधिकारीको भनाइ छ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार ‘फ्लाइ ओभर’को उचाइ छ मिटर हुने गरी निर्माण सुरू गरिएको छ।

फ्लाइ ओभरमा पुग्न बालकुमारीतर्फबाट चार प्रतिशतको ग्रेडमा चढ्नुपर्नेछ।

बालकुमारीतर्फ दुई सय ८० मिटर र सातदोबाटोतर्फ एक सय ७५ मिटर लम्बाइको ‘र्‍याम’ हुनेछ।

‘सुपर स्ट्रक्चर’ ३५ मिटर लम्बाइको हुने ‘फ्लाइ ओभर’ को जम्मा लम्बाइ चार सय ९० मिटर हुनेछ। मङ्गलबजारबाट इमाडोल वा इमाडोलतर्फबाट मङ्गलबजारतर्फ जाने सवारी साधन पुलमुनिबाट जानेछन् भने माथि चक्रपथतर्फ जाने सवारी साधन चल्नेछन्।

फ्लाइ ओभर निर्माणका लागि गत वर्ष फागुनमा आरसी, समानान्तर र रेलिग्रे जेभीसँग सम्झौता भएको थियो। फ्लाइ ओभर निर्माणका लागि १७ करोड ६८ लाख रुपैयाँ खर्च हुनेछ। रासस