Saturday, April 18

राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् मदन भण्डारीको स्मरण

नेपालअखबार, दाङ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्व. नेता मदन भण्डारीको स्मरण गरेकी छन् ।

दाङ तुलसीपुरको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रिय आयुर्वेद विद्यापिठ तथा शिक्षण अस्पतालको भवनको उट्घाट्न समारोहमा मदन भण्डारीको स्मरण गर्दै उनले भनिन्, ‘जननेता मदन भण्डारी संस्कृत क्षेत्रको उत्पादन हुनुहुन्थ्यो ।संस्कृत बाङमयको गहन अध्यन गरेको हुनाले उहाँमा सिर्जनात्मक क्षमता, उच्च नैतिकता र गहन स‌ांस्कृतिक बोध, स्वच्छ राष्ट्र प्रेम जस्ता विशेष गुणहरु थियो ।’

Advertisement

आफ्नो जीवनकालमा थुप्रै पटक दाङ आएका मदन भण्डारीले यहाँको सामाजिक र प्राकृतिक विशेषताहरुबारे आफूलाई सुनाउने गरेको उनले स्मरण गरिन् ।

शिक्षण भवन उट्घाटन गर्दै राष्ट्रपति भण्डारीले आयुर्वेद विद्यापिठ संस्कृत विश्वविद्यालयको ठूलो उपलब्धि भएको बताइन् ।

उनले विद्यापिठबाट आयुर्वेदको सयौं स्नातक तहका उत्पादनहरु तयार हुने र राष्ट्रको समृद्धिमा भुमिका खेल्ने बताइन । उनले आयुर्वेद हाम्रै माटोको सिर्जना भएको आयुर्वेदको विज्ञानलाई अझै विकास गर्दै पुस्तान्तरण गर्न विद्यापिठले भुमिका खेल्ने बताइन ।

राष्ट्रपतिले अब आयुर्वेद पूर्वीय सभ्यतामात्र नभएर संसारकै साझा सम्पत्ति भएको बताउँदै यसको विकास र विस्तारमा ध्यान दिन पर्नेमा जोड दिइन् ।