Thursday, July 23

एक वर्षदेखि ओढारकै बास!

नेपालअखबार,बेनी । म्याग्दीको बेनी नगरपालिकाको वडा नम्बर ७ मा पर्ने कुरिलाखर्कको सडक र पैदलमार्ग भएर दैनिक सयौँ सवारीसाधन र मानिस ओहोरदोहोर गर्छन्।

Advertisement

बेनी–५ भिरमुनिका ५० वर्षीय राहुल विकले एक वर्षदेखि सोही सडकको छेउमा रहेको ओढारमा आश्रय लिइरहेका छन्। छोराहरूको मृत्यु, श्रीमतीले दोस्रो विवाह गरेको र आफन्तले हेला गरेपछि ओढारमा बस्नुपरेको उनले बताए।

Advertisement
Advertisement

‘शक्ति र उमेर हुँदासम्म ३५ वर्ष भारतमा काम गरेँ। उमेर घर्किएपछि गाउँ फर्कँदा साथ दिने कोही भएनन्। हेला गर्न थालेपछि घर छाडेर ओढारमा बस्न थालेको हुँ,’ उनले भने।

Advertisement

राहुलले कन्दमूल खोज्ने र मागेर ल्याएको अन्नबाट दैनिकी चलाउने गर्छन्। सो ओढार बेनी बजारबाट करिब एक किलोमिटर नजिकको दूरीमा छ।

उनी सडकको कान्लामाथिको सानो ओढारमा फाटेका कपडा ओछ्याएर सुत्ने गरेका छन्। शारीरिक कमजोरीका कारण श्रम गर्न नसक्ने राहुल कुराकानी गर्न सक्छन्।

‘उहाँ हाम्रो भैंसी फार्मसँगै जोडिएको ओढारमा बस्न थाल्नुभएको एक वर्षजति भयो’, कुरिलाखर्कका सुरेस ढुङ्गानाले भने, ‘उहाँ काम गर्न सक्दिनँ, मलाई यही ठिक छ भन्नुहुन्छ।’

ढुङ्गानाको भकारो छेउको गोलभेँडा टिपेर तरकारी बनाउने राहुल अरु खाद्यान्न माग्न बजार झर्छन्। दिउँसोमा घाम लागे पनि रातमा चिसो हावा सिधैँ ओढारभित्र छिर्छ। उनलाई मागेर जुटाएको खाद्यान्न बाँदरबाट जोगाउनै हम्मे पर्छ। रातमा चितुवाको डर छ।

कुरिलाखर्ककी बासिन्दासमेत रहेकी बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले राहुललाई ओढारबाट घरमा पठाउने प्रयास गरे पनि नमानेको बताइन्।

‘ओढारमा बसेको देख्नेबित्तिकै खोजीनीति गरेको हो। अन्त जाने ठाउँ छैन, यहाँबाट नपठाउनु भनेर मान्दै मान्दैनन्,’ उनले भनिन्। रासस