Sunday, May 10

ग्यास चुहिएर आगलागी हुँदा ८ जना घाइते

नेपालअखबार, विराटनगर। सोमबार साँझ धरानमा खाना पकाउने ग्यास सिलिन्डर चुहिएर आगलागी हुँदा ८ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको सुनसरी प्रहरी प्रमुख प्रभु ढकालले जानकारी दिएका छन्।

‘अहिले धेरैले विष्फोट भनिरहनुभएको छ तर विष्फोट भएको होइन। ग्यास लिक भएर आगलागी भएको हो,’ एसपी ढकालले भने, ‘आगोले जलेर स्थानीयबासी घाइते हुनुभएको हो।’

Advertisement

उनका अनुसार धरान १७ को आदर्श चोकस्थित स्थानीय सबिता राईको घरमा डेरा गरी बस्ने अञ्जना राईको कोठामा ग्यास लिक भएपछि उनीहरूले ग्यास डिलरका मान्छे बोलाएका थिए। उनीहरू आएर हेर्दै गर्दा एक्कासि आगोको लप्का उठेको थियो।

त्यसक्रममा घाइते हुनेहरूमा घरधनी २७ वर्षीया सबिता राई, कोठा भाडामा बस्ने ४२ वर्षीया अञ्जना राई, ६५ वर्षीया रामकुमारी राई, ८ वर्षीय सांकेन राई, १० वर्षीय सुमिहाङ राई, ग्यास डिलरका प्राविधिक धरान ११ बस्ने १९ वर्षीय अनीश कार्की र सिराहा बन्दीपुर बस्ने १८ वर्षीय वासुदेव खड्का घाइते भएका छन्। उनीहरूमध्ये ६५ वर्षीया वृद्धा रामकुमारी सबैभन्दा गम्भीर रहेको प्रहरी भनाइ छ।

उनीहरू सबैको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।