
नेपालअखबार, काठमाडाैं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउन पहल गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको लोसपाको केन्द्रीय कार्यकारिणी समिति बैठकले अध्यक्ष ठाकुरलाई राष्ट्रिय सहमतिअनुसार राष्ट्रपतिका लागि साझा उम्मेदवार बनाउन दलहरूसँग पहल गर्ने निर्णय गरेको हो।
उक्त निर्णयपछि लोसपाका नेताहरू प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार गएका छन्।
लोसपा नेता केशव झाले राष्ट्रपतिको साझा उम्मेदवारका रूपमा पार्टीले अध्यक्ष ठाकुरलाई अघि बढाउने निर्णय गरेअनुसार दलहरूसँग भेटघाट सुरू गरिएको जानकारी दिए।
उनकाअनुसार नेपाली कांग्रेसलगायत संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरूसँग लोसपाले कुराकानी गर्ने तयारी गरेको छ।
यही फागुन १३ गते राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको मनोनयन तालिका छ।
‘दुई दिनभित्र सबै दलका शीर्ष नेताहरूलाई भेटेर राष्ट्रपतिमा अध्यक्ष ठाकुरलाई सहयोग गर्नेबारे कुराकानी हुन्छ,’ नेता झाले भने।
प्रतिनिधि सभामा लोसपाका ४ जना सांसद छन्।

