Saturday, May 30

उपराष्ट्रपति महिला हुनुपर्ने प्रष्ट प्रावधान छ – सम्मानित नेता खनाल

नेपालअखबार, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले उपराष्ट्रपति पुरुष बन्ने सम्भावना बढेर गएको बताउनुभएको छ  ।

एकीकृत सरकारी कर्मचारी संगठन, नेपालको राष्ट्रिय अधिवेशनको दोस्रो दिनको कार्यक्रममा नेता खनालले फेरि उपराष्ट्रपति पुरुष नै बन्ने सम्भावना बढेर गएकामा दुःख व्यक्त गर्नुभएको हो । उहाँले संविधानमा पुरुष राष्ट्रपति भए उपराष्ट्रपति महिला हुनुपर्ने प्रष्ट प्रावधान रहेको भएपनि त्यसको बेवास्ता गर्दै उपराष्ट्रपतिमा पुरुष नै बनाउन नहुने बताउनुभयो ।

Advertisement

संविधानमा प्रष्ट ब्यवस्था हुँदा हुँदै पनि दलहरूको स्वार्थ र पितृसत्ताको परिणामका कारण यस्तो हुन लागेको नेता खनालको भनाई छ । उहाँले संविधानमा भएका हकअधिकार कार्यान्वयन गराउन र पितृसत्ता विरुद्ध सबैले एकजुट भएर लड्नुपर्नेमा जोड दिनुभयो ।

कुनै पनि समुदायका नाममा उपराष्ट्रपतिमा पुरुष नै ल्याउनु संविधान विपरित भएको बताउँदै पितृ सत्ताका विरुद्ध लड्न पर्ने आवश्यकता रहेकाले यस्ता विभिन्न दमन, शोषण र अन्यायका विरुद्ध विभिन्न क्षेत्रबाट सङ्घर्षका कार्यक्रमहरू अगाडि बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

आगामी चैत्र ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि निर्वाचन आयोगले आज बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म समय तोकेको थियो । सत्ता गठबन्धनबाट जसपाका रामसहाय प्रसाद यादव र प्रमिलाकुमारी यादव, जनमत पार्टीबाट ममता झा तथा नेकपा ( एमाले ) बाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराउनु भएको छ ।