Saturday, May 23

कहाली लाग्दो अर्थतन्त्रको गीतमात्र गाउने होइन, सुधारको योजना चाहियो – अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले ‘कहाली लाग्दो अर्थतन्त्र’ सुधारको गीत मात्र नगाउन सरकारलाई आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने क्रममा संसद्मा बोल्दै अध्यक्ष नेपालले आयात रोकेर मात्र अर्थतन्त्र सुधार नहुँने बताउनुभएको छ ।

Advertisement

‘हाम्रो निर्यात ९ प्रतिशत छ भने आयात ९१ प्रतिशत छ । आयात र निर्यातको खाडललाई कसरी कम गर्ने रु अहिलेको मूल चुनौति यही हो’ अध्यक्ष नेपालले भन्नुभयो ‘विदेशी मुद्रा संचितिकरण गर्न  आयात रोकिएको होला । आयात रोकेर मात्र अर्थतन्त्रको सुधार हुँदैन । विकास र रोजगारले अर्थतन्त्र बलियो हुन्छ ।’

अध्यक्ष नेपालले बैंक तथा लघुवित्तको विकराल समस्यालाई समयमा सुल्झाउन सरकारसँग आग्रह गर्नुभएको छ ।
गठबन्धन टिक्ने या भत्किने दल र नेताको चरित्रमा भरपर्छ

अध्यक्ष नेपालले वर्तमान सरकार टिक्ने या भत्किने वर्तमान गठबन्धनका दलहरुको चरित्रमा भरपर्ने बताउनुभएको छ । ‘नेता र दलहरुको व्यवहारले छिटो-छिटो गठबन्धन बन्ने र भत्किने गरेको छ, यो गठबन्धनको भविश्य पनि व्यवहारमै निर्भर छ’ अध्यक्ष नेपालले भन्नुभयो ‘बैशाखमै फेरी विश्वासको मत लिने अवस्था सिर्जना नहोस् ।

गठबन्धनको दृष्टिकोण स्पष्ट भए पाँच वर्ष टिक्ने दावी अध्यक्ष नेपालले गर्नुभएको छ । ‘यो गठबन्धनको दृष्टिकोण स्पष्ट छ, त्यही भएर पाँच वर्ष टिक्छ ।’  विगतमा दृष्टिकोण खराब हुँदा दुईतिहाइको सरकार पनि ढलेको उदाहरण दिनुभयो । दुई तिहाइको सरकार जनता र संविधानका पक्षमा उभिने नसक्ने पछि ढलेको बताउनुभयो ।

अध्यक्ष नेपालले वैदेशिक रोजगारमा रहेका नेपाली दाजु भाईका समस्यामा अनुदार नहुँन सरकारलाई आग्रह गर्नुभएको छ । ‘कतिपय जेलमा हुनुहुन्छ, कतिपय सडकमा नारकीय जीवन विताइ रहनुभएको छ, उहाँहरुको समयमा उद्धार गर्न म सरकारलाई आग्रह गर्दछु’ अध्यक्ष नेपालले भन्नुभयो ।