Thursday, July 16

प्रधानमन्त्रीले मन्त्रीहरूलाई भने- तडकभडक र विवादबाट जोगिनुस्

नेपालअखबार, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरूलाई आक्षेप, तडकभडक र विवादबाट जोगिन भनेका छन्।

Advertisement

मन्त्रिपरिषद बिस्तारपछि पहिलो पटक सोमबार बसेको मन्त्रिपरिषद बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरूलाई मन्त्रालयका फजुल खर्च कटौती गर्नसमेत निर्देशन दिए।

Advertisement
Advertisement

‘यो गठबन्धन सरकार हो। हामीले प्रतिनिधित्व गर्ने दलहरूबीच वैचारिक भिन्नता छन्, यो सत्य हो। तर ती विमति र मतभेदका प्रभाव सरकार सञ्चालनमा कतै पनि पर्नु हुँदैन र पर्ने छैन,’ उनले भने, ‘हामीलाई मार्गदर्शन गर्न न्यूनतम साझा कार्यक्रम छ। यहाँहरू अनावश्यक आक्षेप, तडकभडक र विवादबाट जोगिनुहोस्।’

Advertisement

उनले आफूले सम्हालेका मन्त्रालयका फजुल खर्चको समीक्षा गरेर त्यस्तो खर्च कटौतीको प्रस्ताव ल्याउन आग्रहसमेत गरेका थिए।

अनावश्यक सेमिनार, गोष्ठी र भ्रमण नियन्त्रण गर्न र मन्त्रालयको खर्चमा मितव्ययिता, पारदर्शिता र स्वच्छता कायम गर्न तथा मन्त्रालयमा अधिकतम समय दिनसमेत मन्त्रीहरूलाई उनले निर्देशन दिएका छन्।

‘म आँकडामा जान चाहन्नँ, तर हामी सबैलाई थाहा छ, राष्ट्र चौतर्फी संकटमा छ। यो पद अहिले हाम्रा लागि पुरस्कार होइन, चुनौती हो भन्ने मान्यौँ र त्यसैअनुसार परिणाममुखी भएर अघि बढ्यौँ भने मात्र हामी बधाईका हकदार बन्नेछौँ’, प्रधानमन्त्री दाहालले भने।

उनले मन्त्रालयका नीतिगत निर्णय र काम प्रधानमन्त्रीसँग अग्रिम समन्वय, सल्लाह र सहमतिका आधारमा गर्न मन्त्रीहरूलाई आग्रहसमेत गरेका थिए। ‘समन्वयमा संविधान बमोजिम नेपाल सरकारको कार्यविभाजन नियमावली र कार्यसम्पादन नियमावलीले दिएको अधिकार क्षेत्रभित्र रहेर आफ्नो मन्त्रालयको काम गर्न यहाँहरू स्वतन्त्र हुनुहुन्छ,’ उनले भने।