Wednesday, July 29

मेलम्चीको पानी वितरण गर्न पाइप बिछ्याइँदै

नेपालअखबार, काठमाडाैं । काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरणका लागि पाइप बिछ्याउन बाँकी स्थानमा पाइप बिछ्याउन सुरू गरिएको छ।

Advertisement

केही वर्ष पहिले बिछ्याएका पाइपमा परीक्षण गर्नुका साथै आगामी वर्ष नयाँ पाइपबाट पानी वितरण गर्ने उद्देश्यले काम सुरू गरिएको हो।

Advertisement
Advertisement

यसअघि एसियाली विकास बैंकको ऋण सहयोगमा चक्रपथभित्रका विभिन्न स्थानमा पाइप बिछ्याइएको थियो। त्यतिबेला छुटेका स्थानमा अहिले पुराना पाइप परीक्षण गर्नुका साथै नयाँ पाइप बिछ्याउन सुरू गरिएको आयोजना कार्यान्वयन निर्देशनालयका सूचना अधिकारी चन्द्रकुमार पुन श्रेष्ठले बताए।

Advertisement

उनले भने, ‘पहिले छुटेका चक्रपथभित्रका ठाउँ र चक्रपथ बाहिरका केही ठाउँमा अहिले काम भइरहेको छ।’

चक्रपथभित्र बालुवाटार, धुम्बाराही, कलंकी, स्वयम्भू क्षेत्रमा तथा चक्रपथ बाहिर कपन र मण्डिखाटार क्षेत्रमा पनि पाइप बिछ्याउने काम भइरहेको छ।

उनले भने, ‘पाइप बिछ्याइसकेपछि परीक्षण गर्न एक वर्ष लाग्नसक्छ। परीक्षणपछि नियमित पानी वितरण गरिनेछ।’

पहिलो चरणमा एक हजार १० किमी पाइप बिछ्याइएको थियो। ती ठाउँमा अहिले आधाभन्दा बढी परीक्षण भइसकेको निर्देशनालयले जनाएको छ। परीक्षण सकिएका स्थानमा नयाँ र नसकिएका ठाउँमा पुरानो पाइपबाट खानेपानी वितरण भइरहेको छ।

मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना निर्माणमा एसियाली विकास बैंकले सहयोग गर्दै आएको छ।

हिउँदमा मात्रै नभएर वर्षाको समयमा पनि पानी ल्याउन सकियोस् भनेर छुटेका ठाउँमा पाइप बिछ्याउन लागिएको सूचना अधिकारी श्रेष्ठको भनाइ छ। रासस