Wednesday, July 29

रास्वपा सांसदले २ करोड मागेको अडियोमाथि अनुसन्धान हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

नेपालअखबार, काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो प्रकरणमाथि अनुसन्धान हुने बताएका छन्।

Advertisement

सोमबार बिहान चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले अडियो प्रकरणबारे अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाउने बताएका हुन्।  ‘दुई करोडको कुरा आएको छ । अनुसन्धानबाट जे पुष्टि हुन्छ, त्यहीअनुसार अघि बढ्ने कुरा हुन्छ।’

Advertisement
Advertisement

अडियो प्रकरणमा अनुसन्धानको प्रक्रियाबाट निष्कर्षमा पुगेर अघि बढ्ने उनको भनाइ छ। अडियोको वास्तविकताबारे सम्बन्धित पार्टी र तिनका नेताले नै प्रस्ट पार्नुपर्ने गृहमन्त्री श्रेष्ठले बताए।

Advertisement

यस्तै गृहमन्त्री श्रेष्ठले काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहलाई समन्वयका लागि औचित्य पुष्टि हुने गरी तथ्यसंगत रूपमा आउनुपर्ने  आग्रह गरे । मेयर शाहले सङ्घीय सरकारले स्थानीय सरकारसँग समन्वय नगरेको आरोप लगाएपछि गृहमन्त्री श्रेष्ठले भने, ‘काठमाडौँ महानगरपालिकाका मेयरका बारेमा व्यक्तिगत रूपमा अहिले म कुनै टिप्पणी गर्न चाहन्न। तर कुरा के हो भने प्रदेश सरकार र स्थानीय सरकारमा समन्वय गरेर संविधानले दिएको जिम्मेवारीलाई पूरा गर्न सङ्घीय सरकार मद्दत गर्न प्रतिबद्ध छ ।’

बल प्रयोग गर्न अनुरोध मात्र गरेर समन्वय नहुने गृहमन्त्रीको भनाइ छ। ‘स्थानीय वा प्रदेश सरकारले म यसो गर्छु भन्ने अनि बल प्रयोग गर्न अनुरोध मात्र गर्ने जानकारी दिएर त हुँदैन। यसबारे महानगर मेयरलाई प्रस्ट भनेको छु,’ श्रेष्ठले भने ।