Thursday, July 16

राष्ट्रपति पौडेलको स्वास्थ्य सुधार हुँदैछ

नेपालअखबार, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था क्रमिकरूपले सुधारोन्मुख रहेको छ । भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार गराइरहेका राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार भइरहेको उनको स्वकीय सचिवालयले जनाएको छ ।

Advertisement

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बुधबार विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको स्वास्थ्यसम्बन्धी केही परीक्षणको रिपोर्ट अझै आउन बाँकी रहेको चिकित्सकले बताएको उल्लेख गरेका छन् ।

Advertisement
Advertisement

“छातीको इन्फेक्सनका कारण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भई लगातार एन्टिबायोटिक चलाउँदा पनि प्रभावकारी नभएपछि चिकित्सकको सुझावअनुसार उहाँको भारतीय सरकारी अस्पताल एम्समा उपचार भइरहेको सर्वविदितै छ”, विज्ञप्तिमा भनिएको छ ।

Advertisement

राष्ट्रपतिको नेपालमै उपचार गर्ने चाहना हुँदाहुँदै पनि चिकित्सकको टोली तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उच्च राजनीतिक नेतृत्वको विशेष आग्रहमा उनी भारतमा उपचारका लागि जान तयार भएको सचिवालयले स्पष्ट पारेको छ । यो कुरा प्रधानमन्त्री दाहालले सार्वजनिक कार्यक्रममा नै बताइसकेको विज्ञप्तिमा उल्लेख छ ।

“नेपाल सरकारको निर्णयबमोजिमको उपचार पद्धति कानुन, नियम र निश्चित विधिअनुसार हुने स्पष्ट हुँदाहुँदै पनि राष्ट्रपति संस्थालाई नै विवाद पार्ने मनसायले केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सूचना र दुष्प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७४ मा विदेश भ्रमण र उपचारका लागि विदेश जाने विषयलाई अलग–अलग व्यवस्था गरिएको प्रष्ट छ तर, ऐन कानुन नै नबुझेजस्तो गरी राष्ट्रपतिका परिवारका सदस्यले दैनिक भ्रमण भत्ता पाउनेजस्ता आम नागरिकलाई दिग्भ्रमित पार्ने सूचना सम्प्रेषण भइरहेको भन्दै सचिवालयले दुःख व्यक्त गरेको छ ।

rr