Wednesday, August 26

इच्छाकामना मन्दिर पुनःनिर्माण अन्तिम चरणमा

नेपालअखबार, चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मा रहेको इच्छाकामना मन्दिरका पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ ।

Advertisement

ढुङ्गा र माटोले बनेको पुरानो मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर पुनःनिर्माण गरिएको हो । विसं २०७५ असार ७ गते शिलान्यास गरेर काम सुरु भएको मन्दिरको ९५ प्रतिशत काम सकिएको इच्छाकामना सिद्धबाबा क्षेत्र संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले बताए । उनले अब मन्दिरमा बत्ती जडान, ढुङ्गा बिच्छाउने र पर्खाल लगाउने केही काम बाँकी रहेको बताए । “गाउँपालिका र प्रदेश सरकारको झन्डै रु दुई करोडको लागतमा मन्दिर निर्माणमा खर्च भइसकेको छ”, उनले भने, “चारपाँच लाख चन्दादाताबाट पनि बटुलिएको छ ।” मन्दिर निर्माणका लागि स्थानीयले श्रमदानसमेत गरेको उनको भनाइ छ । यस वर्ष प्रदेश सरकारले विनियोजन गरेको रु १० लाख र गाउँपालिकाले विनियोजन गरेको रु आठ लाखको काम भइरहेको बोहोराले बताए ।

Advertisement
Advertisement

पृथ्वी राजमार्गअन्तर्गत फिस्लिङबाट १८ किलोमिटर कच्ची सडक र छ सय मिटर हिँडेपछि इच्छाकामना मन्दिर पुग्न सकिन्छ । मन्दिर निर्माण समितिका उपाध्यक्ष यानबहादुर गुरुङले बर्खाको समयमा गाडी नचल्ने र बोकेर सामान लैजानुपर्दा ढुवानी महँगो परेको बताए । उनले एक महिनाभित्र मन्दिर पुनःनिर्माणको काम सकिने बताए । कोरोना र आर्थिक समस्याले मन्दिर निर्माणमा ढिलाइ भएको उनको भनाइ छ ।

Advertisement

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले मन्दिर निर्माणका लागि आवश्यक बजेट पालिकाले विनियोजन गरेको बताए । इच्छाकामना गाउँपालिका पर्यटकीय सम्पदाले भरिपूर्ण रहेको भन्दै उनले प्रचारप्रसारलाई बढाइने बताए। उनले मन्दिरको सरसफाइका लागि पनि कर्मचारी नियुक्ति गर्ने तयारी भइरहेको जानकारी दिए।

शक्तिखोर फिस्लिङ सडक निर्माण सम्पन्न भएपछि सहजरूपमा इच्छाकामना मन्दिर पुग्न सकिन्छ । गोरखाको सहिद लखन गाउँपालिकाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको आमनेसामने उत्तरमा पर्ने यस मन्दिरमा पूजाआजा गरे इच्छाएको पूरा हुने धार्मिक विश्वास छ । प्रत्येक वर्ष मङ्सिरको ठूली एकादशीपछि पञ्चमी तिथिमा इच्छाकामनामा ठूलो मेला लाग्छ । इच्छाकामना मन्दिर समुद्री सतहदेखि एक हजार आठ सय मिटरको उचाइमा रहेको छ ।