Saturday, July 4

सबै कम्युनिस्ट पार्टीलाई मिलाउन चाहेपनि घमण्डी प्रवृत्तिले त्यो कुरामा बाधा पुगेको -अध्यक्ष नेपाल

नेपालअखबार, सुर्खेत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरूले सबै कम्युनिस्ट पार्टीलाई मिलाउन चाहिरहेको तर घमण्डी प्रवृत्तिले त्यो कुरामा बाधा पुगेको बताउनु भएको छ ।

Advertisement

सुर्खेतमा बुधबार बिहान समाजवादी प्रेस सङ्गठनले आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले माओवादीले पीडा दिएको बताउँदै मर्माहित भएको बताउनु भएको हो ।

Advertisement
Advertisement

‘हामी गठबन्धन टिक्छ भनिरहेका छौं । टिकाउँछौ भनिरहेका छौं । टिकाउने क्षमता, खुबी र हिस्सेदारी हामीसँग छ भनिरहेका छौं,’ उहाँले भन्नुभयो , ‘तर हामीलाई पीडा दिने खालको व्यवहार देखिसकेपछि हामी मर्माहत भएका छौं ।’
खासगरी कर्णालीमा आफ्नो पार्टीलाई पूरै बेवास्ता गरिएको भन्दै अध्यक्ष नेपालले माओवादीको व्यवहार प्रति आपत्ति जनाउनु भयो  । ‘बजेटको बाँडफाँड गर्ने, अनि यो पार्टीको कुनै अस्तित्वै छैन भन्ने ठान्ने ? खासगरी माओवादी पार्टीको व्यवहारबाट हाम्रा साथीहरू धेरै दुखित हुनुहुन्छ’, अध्यक्ष नेपालले भन्नुभयो  ‘म भन्न चाहन्छु– दम्भ र घमण्डले रावण जन्मायो, दम्भ र घमण्डले अर्को रावण जन्माउने काम नगर्नुस् । त्यसो हुनाले त्यो घमण्ड छोड्नुस्, समानताको व्यवहार गर्नूस् । मिलेर अगाडि बढ्नुस् ।’

Advertisement

‘होइन भने एकचोटि एउटाले घमण्ड गर्‍यो, उसले लोप्पा खायो। अर्कोले फेरि घमण्ड गर्‍यो, उसले पनि लोप्पा खायो । अब तेस्रो घमण्ड गर्ने, कसको पालो छ, त्यो मात्रै बाँकी छ । थाहा होला नि– पहिले केपी ओलीले घमण्ड गरे, पछि शेरबहादुरजीले घमण्ड गरे, फेरि केपी ओलीले घमण्ड गरे, अब घमण्ड गर्ने पालो कसको छ, हेर्न बाँकी छ, त्यसैले घमण्ड नगर्नुस् ।’

उहाँले आफ्नो पार्टी नेपालको राजनीतिको महत्वपूर्ण पक्ष भएको बताउँदै दम्भ र घमण्ड नदेखाउन माओवादी केन्द्रलाई भन्नुभयो । माओवादी केन्द्रसँग पार्टी एकताका बारेमा सोधिएको प्रश्नमा नेपालले कर्णालीकै जस्तो अवस्था रहे पार्टी एकता त के समाजवादी मोर्चा निर्माण पनि सम्भव नरहेको बताउनु भयो ।