Wednesday, July 29

कुनै पनि विदेशी शक्तिले खेल्न खोजे त्यसलाई नसहने : पूर्वप्रधानमन्त्री खनाल

नेपालअखबार, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपाललाई विदेशीको खेल भूमि बनाउने प्रयास भइरहेकोमा चिन्ता व्यक्त गरेका छन् । नेपाल असंलग्न र सार्वभौम भूमि रहेको बताउँदै नेता खनालले कुनै पनि विदेशी शक्तिले खेल्न खोजे त्यसलाई नसहने पनि स्पष्ट पारेका हुन् ।

Advertisement

मदन आश्रित स्मृति दिवसको अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले एकपछि अर्को अमेरिकी नेता र सेनाका अधिकारीहरू नेपाल आएकोमा त्यसको उद्देश्यप्रति आशङ्का व्यक्त गरे ।

Advertisement
Advertisement

उनले भने, ‘हामीले एमसीसी पास गर्‍यौँ । एसपीपी एग्रीमेन्ट पनि गराउन खोजियो । त्यसपछि अमेरिकी नेता र सेनाको झुण्ड आउँदैछन् । अमेरिकाका मन्त्री आउँछन्, सबैभन्दा पहिले तिब्बती क्याम्पमा पुग्छन् । त्यहाँ बाट फर्केर तिब्बतीलाई परिचय कार्ड दिन दबाब दिन्छन् । के स्वार्थ छ यसमा उनीहरूको ?’

Advertisement

नेता खनालले नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारले जनताको अपेक्षाअनुसार भूमिसुधार, कृषि क्रान्ति, शिक्षामा सुधारको काम नगरेर असंवैधानिक रूपले संसद्लाई विघटन गर्दै देश अस्थिरतातर्फ अघि बढाउने काम गरेको आरोप पनि लगाए । उनले भने, ‘संसद् विघटन नेपाली राजनीतिमा गएको सबैभन्दा ठुलो भूकम्प थियो । त्यसको पराकम्प अहिले पनि जारी छ । त्यसलाई रोक्न वामपन्थीहरू छातीमा हात राखेर समीक्षा गर्नुपर्छ ।’

उनले वामपन्थी मिल्ने हो भने सबैतिर बहुमत पुग्ने भए पनि वामपन्थीहरू एक आफसमा मिल्न नचाहेकोमा दुःख व्यक्त गरे । त्यही कारणले यतिबेला सातवटै संसद् त्रिशङ्कु अवस्थामा रहेको जिकिर गरे ।

मदन भण्डारी र जीवराज आश्रितले नेपालको वैचारिक, राजनीतिक र सैद्धान्तिक आन्दोलन उचाइमा पुर्‍याउन योगदान दिएको स्मरण गरे । उनले जुन परिस्थितिमा दुई जनाको हत्या भयो, त्यो कम्युनिस्ट आन्दोलन र देशभक्ति आन्दोलनलाई ठुलो क्षति पुगेको जिकिर गरे ।

उनले प्रत्यक्ष प्रमाणहरू हुँदा हुँदै पनि नेतृत्वको कमजोरीले सो हत्याकाण्ड अब सदाका लागि रहस्य बन्नेमा चिन्ता व्यक्त गरे । उनले भने, ‘त्यो हत्या कारणले भयो । आम जनताका लागि ठुलो सरोकारको विषय थियो । प्रत्यक्ष प्रमाणहरू हाम्रा सामु थिए । तर, ती प्रमाणहरूलाई जसरी सदुपयोग गर्नुपर्थ्यो, अनुसन्धानका आधारहरू बनाइनुपर्थ्यो, त्यो काम हाम्रो देश र नेतृत्वले गर्न सकेन । के अमर लामाले सम्पूर्ण कुरा थाहा पाएका थिएनन् ? निश्चय पनि उ आफै बाँचेको छ, जिप मात्र खसाइएको छ । उसलाई सम्पूर्ण कुरा थाहा थियो, तर ऊबाट जसरी सत्य ओकलाउनुपर्ने थियो, त्यो काम हुन सकेन । यो घटना अब सदासदाका लागि रहस्यको स्थिति रहनेछ ।’

खनालले भण्डारी र आश्रितले अघि बढाएको आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउँदौ जनवादी क्रान्तिलाई अघि बढाएको बताए । उनले  देशमा पुँजीवादी जनवादी क्रान्ति सफलतापूर्वक सम्पन्न गरेर समान्तवादलाई परास्त गरेको उल्लेख गरे । उनले देश यतिबेला पुँजीवादी चरणमा आइपुगेको बताए ।