Friday, July 17

लम्पी स्किन रोगबाट बागमतीमा २६० पशु मरे

नेपालअखबार, हेटौँडा । बागमती प्रदेशमा लम्पी स्किन रोगबाट २६० पशु मरेका छन् । प्रदेशका १३ जिल्लामा रोगको सङ्क्रमणका २६० गाईहरू मरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार प्रदेशका १३ जिल्लामध्ये सबैभन्दा बढी मकवानपुरमा १९७ वटा गाईहरू मरेका छन् भने सिन्धुलीमा ४७, नुवाकोटमा १०, काठमाडौँमा ४ र काभ्रेमा २ वटा गाई मरेका छन् । लम्पी स्किन रोगबाट सबैभन्दा बढी प्रभावित जिल्ला मकवानपुरमा मात्र ४ हजार ८३५ वटा गाईमा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिए ।

Advertisement
Advertisement

सूचना अधिकारी अधिकारीका अनुसार लम्पी स्किन रोगबाट सिन्धुलीमा सबैभन्दा बढी गाईमा संक्रमण पुष्टि भए पनि क्षति भने कम रहेको छ । सिन्धुलीमा ९ हजार ६३४ वटा गाईमा सङ्क्रमण देखिएको थियो । जसमध्ये ४७ वटा गाई मरेका छन् । काठमाडौँमा ८३ वटा, ललितपुरमा ४० वटा, भक्तपुरमा एउटा, रामेछापमा एक हजार ९६५ वटा, काभ्रेमा ४०० वटा, नुवाकोटमा ३०० वटा, सिन्धुपाल्चोकमा ६ वटा, र चितवनमा एक हजार ६० वटा गाईमा रोगको सङ्क्रमण पुष्टि भएको सूचना अधिकारी अधिकारीले बताए ।

Advertisement

सङ्क्रामक विषाणुजन्य रोग लम्पी स्कीनबाट बागमती प्रदेशमा भैँसीको तुलनामा गाईहरूमा बढी देखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव शरणकुमार पाण्डेले जानकारी दिए । हालसम्म लम्पी स्किन रोग प्रदेशको १३ मध्ये १० जिल्लामा देखिएको उनले बताए । उनका अनुसार धादिङ, दोलखा र रसुवामा लम्पी स्किन रोगको संक्रम देखिएको छैन ।

लम्पी स्किन रोगको सङ्क्रमण हुँदा गाई भैँसीमा अत्यधिक ज्वरो आउने, पशु झोक्राउने, दाना पानी नखाने, दुहुना गाई भैँसीको दूध घट्ने, शरीरका विभिन्न भागहरूमा गिर्खा आउने र पछि गिर्खाहरू फुटी अल्सर हुने आँखामा कचेरा लाग्ने, नाकबाट सिँगान बग्ने, रोगी पशुलाई जीवाणुको सङ्क्रमणले निमोनिया र थुनेलो हुने जस्ता समस्या पैदा भई पशुको मृत्यु हुने गरेको सचिव पाण्डेले बताए ।

रोगको सङ्क्रमणको दर अनुसार पशुको मृत्युदर न्यून रहेको उनको भनाई छ । रोगको सङ्क्रमणबाट पशु मृत्युदर करिब ६ प्रतिशत रहेको भए पनि दुहुना पशुहरूको दूध उत्पादनमा उल्लेख्य ह्रास आएको सचिव पाण्डेले बताए । उनका अनुसार प्रदेशमा रोगको सङ्क्रमणका कारण ८० प्रतिशतसम्म दूध उत्पादनमा ह्रास भएकाले कृषकहरूलाई ठुलो आर्थिक क्षति पुगेको छ ।

प्रदेशभित्र तीव्र गतिमा फैलिरहेको लम्पी स्किन रोगको नियन्त्रण तथा रोकथामका लागि मन्त्रालयले गाई भैँसीको स्वास्थ्य संरक्षण गर्न र दूध उत्पादनमा हुने कमीलाई न्यूनीकरण गर्न विशेष कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाई छ ।

प्रदेशका फैलिएको लम्पी स्किन रोग नियन्त्रण र रोकथामको लागि मन्त्रालयले जनचेतना फैलाउन प्रचार प्रसार सामाग्री तथा सूचना प्रकाशन गर्ने, रोगको जोखिमयुक्त क्षेत्रको पहिचान गरी खोप कार्यक्रम शुरु गर्न भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरूलाई निर्देशन दिइसकेको सचिव पाण्डेले बताए । जस अनुसार मकवानपुर गढी गाउँपालिका–६ मा एक जार ५०० डोज खोप लगाउने कार्य भइरहेको छ ।

रोगको सङ्क्रमणग्रस्त क्षेत्रमा तत्काल निःसंक्रमण, उपचार लगायतका नियन्त्रणका कार्यहरू सञ्चालन गर्न विज्ञ केन्द्रमा तत्काल सङ्क्रमण नियन्त्रण टिम गठन गरी परिचालन गरिएको उनले बताए । रोग सर्ने जोखिमलाई मध्यनजर गर्दै प्रशासन कार्यालयसँगको समन्वयमा प्रचलित कानुन बमोजिम पशु ढुवानी र ओसारपसार कार्यलाई नियन्त्रण वा निषेध गर्न विज्ञ केन्द्रहरूलाई निर्देशन दिइएको छ भने रोग नियन्त्रण र रोकथाम कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयले लम्पी स्किन डिजिज् नियन्त्रण र रोकथाम रणनीति, २०८० तयार गरी कार्यान्वयन गर्ने तयारी भइरकेको उनको भनाई छ । सचिव पाण्डेका कृषकका पशु फार्ममा रोग फैलिन नदिन जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्न आग्रह समेत गरे ।