Saturday, July 18

उत्पादन वृद्धि र रोजगार सृष्टिमा सरकार दृढ छः प्रधानमन्त्री प्रचण्ड

नेपालअखबार, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन वृद्धि र रोजगार सृष्टिमा सरकार दृढ रहेको बताएका छन्।

Advertisement

अखिल नेपाल ट्रेड युनियन महासंघका नवनिर्वाचित पदाधिकारीहरूको पदस्थापन तथा शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्।

Advertisement
Advertisement

उनले भने, ‘हामीले काम गर्दै जाँदा धेरै खालका अप्ठ्याराहरू छन्। हामीले सुशासन र आर्थिक समृद्धिका पक्षमा, मुख्य त भ्रष्टाचार विरूद्ध कदम चालेको हुनाले जनतामा निकै आशा र भरोसाको सञ्चार भएको छ। सरकार जस्तोसुकै अप्ठ्याराहरू सामना गरेर जाने शक्तिको स्रोत जनताको विश्वास र भरोसा नै हो।’

Advertisement

नेतृत्वले निकै ठूला दबाब र घेराबन्दीका बाबजुद सुशासनको पक्षमा काम गरिरहेको बताउँदै प्रधानमन्त्रीले जनताको भरोसा र विश्वास रहेसम्म जस्तोसुकै घेराबन्दी र दबाब झेलेरै सुशासन र समृद्धिको पक्षमा सरकार अघि बढ्ने बताए।

तीन ठूला दलका शीर्ष नेताहरूबीच हुने गरेको छलफलका विषयलाई नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडेर नबुझ्न उनको आग्रह थियो।

शेरबहादुर देउवा र केपी ओलीसँगको आफ्नो छलफल संसद सञ्चालनको विषयमा हुने गरेको प्रधानमन्त्रीले स्पष्ट पारे।

‘सदनलाई कसरी प्रभावकारी रूपमा सञ्चालन गर्ने भन्नेमै हामीहरूका बीचमा छलफल भएको हो’, प्रधानमन्त्रीले भने।

देशमा नेपाली जनताले दशकौं संघर्ष गरेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने कोसिस हुने गरेको भन्दै परिर्वतनका पक्षमा फेरि एकचोटि सहकार्यको आवश्यकता हुनसक्छ भनेर आफूहरू छलफलमा बस्ने गरेको प्रधानमन्त्रीको भनाइ थियो।

उनले सुशासनको निम्ति नक्कली भुटानी शरणार्थी मात्रै नभई भ्रष्टाचारका सबै फाइलहरू खोलिने विश्वास दिलाए।