Thursday, September 17

सतिसाल बनेर उभिन जरुरी छ : मेटमणि चौधरी

नेपालअखबार, दाङ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले हरेक कठिनाइमा सतिसाल बनेर उभिन जरुरी रहेको बताएका छन् ।
‘क्रान्ति गर्दा अप्ठ्यारो हुन्छ । दुःख हुन्छ । अवसरवादीहरुले खुट्टा कमाउँछन् तर नेत्रलालले भन्नुभए जस्तै एउटा क्रान्तिकारीले मात्र आँधी र हुरीसँग पौठेजोरी खेल्दै ठिङ्ग उभिन सक्छ । जटिल परिस्थितिको सामना गर्न सक्छ ।’ एकीकृत समाजवादी दाङले शनिवार आयोजना गरेको नेत्रलाल अभागी स्मृति दिवसका अवसरमा पूर्व मन्त्रि समेत रहेका चौधरीले सुनाए ।
दङाली कम्युनिष्ट आन्दोलनका संस्थापक नेता नेत्रलाल पौडेल ‘अभागी’को ४० औँ स्मृति कै अवसर पारेर एकीकृत समाजवादीका केन्द्रीय सचिव भागवत विश्वासी, केन्द्रीय सदस्य शारदा श्वर्णकार, जिल्ला अध्यक्ष, सचिव लगायत केही नेता एमाले फर्किएका छन् ।
‘पार्टी निर्माण गर्ने बेला, पार्टीलाई बलियो बनाउँने बेला केही अवसरवादीहरुले खुट्टा उचालेका छन् । हिजो एमाले बन्दैन भनेर कुर्लिनेहरु आज किन उतै लागे ? उनीहरुलाई कार्यकर्ताले प्रश्न गरिरहने छन् । र प्रश्नको जवाफ दिन नसकेर उनीहरु भाग्नु पर्ने छ ।’
एमालेमै फर्किएका नेताहरुलाई लक्षित गर्दै चौधरीले आश्चर्य व्यक्त समेत गरे ।

Advertisement
Advertisement

Advertisement