Tuesday, July 28

२० वर्षदेखि टर्कीको सत्तामा रहेका एर्दोगनले फेरि जिते राष्ट्रपति

नेपालअखबार, एजेन्सि। टर्कीमा रेसेप तय्यिप एर्दोगान फेरि राष्ट्रपति निर्वाचित भएका छन्।

Advertisement

आइतबार भएको राष्ट्रपतिको दोस्रो चरणको निर्वाचनमा प्रतिस्पर्धी केमाल किलिक्डारोग्लुलाई हराउँदै एर्दोगान थप पाँच वर्षका लागि राष्ट्रपति चुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

Advertisement
Advertisement

एर्दोगानले ५२.१ प्रतिशत मत पाएका छन् भने लिक्डारोग्लु ४७.९ प्रतिशत मत ल्याएका छन्।

Advertisement

यसअघि मे १४ मा भएको पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेदवारबीच आइतबार फेरि चुनाव भएको थियो।

किलिक्डारोग्लुले आइतबारको चुनाव धाँधलीपूर्ण भएको बताएका छन् तर उनले निर्वाचन परिणाम भने स्वीकारेका छन्।

जितपछि अंकारामा खुसीयाली मनाइरहेका समर्थकलाई सम्बोधन गर्दै एर्दोगानले यो साढे ८ करोड टर्किसको जित भएको बताएका छन्।

टर्कीमा एर्दोगानले लगातार दुई दशकदेखि शासन चलाइरहेका छन्।

सन् २००३ देखि २०१३ सम्म उनी टर्कीका प्रधानमन्त्री थिए। पछि उनी राष्ट्रपति बनेका हुन्। तानाशाही शैलीमा शासन गरेको भन्दै उनको व्यापक आलोचना भइरहेको छ। टर्की उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) को सदस्य राष्ट्र हो। तर एर्दोगानले भने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सुमधुर सम्बन्ध बनाएका छन्।