
नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले भ्रष्टाचारविरुद्ध मंगलबार बिरोध प्रदर्शन गरेको छ।
एकीकृत समाजवादी मोर्चा संगठनद्वारा आयोजित बिरोध प्रदर्शनमा भ्रष्टाचार अन्त्यका लागि सरकार कडाइका साथ लाग्नु पर्ने माग गरिएको थियो। शरणार्थी प्रकरणमा पक्राउ परेकालाई छोड्ने प्रपञ्च रच्ने काम भइरहेको भन्दै नेताहरूले त्यसको सशक्त विरोध गर्नु भएको छ।
पार्टीका उपमहासचिव डा.विजय पौडेल, नेताहरू रामेश्वर फुयाँल, उषा पोखरेल, नितेश पौडेल लगायतले शरणार्थी प्रकरणलाई सरकार र अदालतले तलमाथि गरे त्यसको सशक्त प्रतिवाद गर्ने चेतावनी दिनु भएको थियो।माइतीघरदेखि निकालिएको जुलुस प्रदर्शन वानेश्वर पुगेर कोर्णसभामा परिणत भएको थियो। नेताहरूले सम्बोधन गर्नुका साथै राष्ट्रिय जनसाँस्कृतिक महासंघ, समाजवादीका कलाकारहरूले गीत संगीतमार्फत खबरदारी गर्नु भएको थियो।
कोर्ण सभालाई सम्बोधन गर्दै डा.पौडेलले भ्रष्टाचारविरुद्धको आन्दोलनलाई सशक्त पार्न एकीकृत समाजवादीले मोर्चा सङ्गठनको तर्फबाट पार्टी केन्द्रीय कमिटी, भूगोलका सबै प्रदेश कमिटी, विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी, जिल्ला कमिटी र विशेष जिल्ला कमिटीलाई निर्देशन दिनु भएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको अनुसन्धान तथा कारबाहीलाई निष्पक्ष बनाउन दबाब दिने उद्देश्यले एकीकृत समाजवादीले देशभर विभिन्न आन्दोलनहरू गर्दै आएको छ।








