Friday, May 1

कपडा बुनेर मासिक चार हजारसम्म कमाउँछन् तनहुँ कारगारका महिला कैदीबन्दी

नेपालअखबार,  तनहुँ। तनहुँ कारागारमा रहेका महिला कैदीबन्दी पछिल्लो समय आयआर्जनमा लागेका छन्।

सुरुआतमा कारागारमा रहेका १६ मध्ये पाँच महिला कैदीबन्दीले तानबाट झोलाको कपडा बुनेर आम्दानी गर्न थालेका थिए।हाल कारगारका अन्य महिला कैदीबन्दीले पनि उनीहरुकै सिको गरिरहेका छन्।

Advertisement

कपडा बुन्न आवश्यक कच्चापदार्थ, तानलगायतको व्यवस्था मिलाएको कारागारकी चौकीदार मनमाया विक बताउँछिन्।

पोखरा कारागारमा रहेका महिला कैदीबन्दीलाई तनहुँ कारागारमा स्थानान्तरण गरिएपछि त्यहाँ सिकेको सीपलाई यहाँ निरन्तरता दिएको उनले बताइन्।

‘कारागारमा रहेका अन्य महिला कैदीबन्दी पनि सीप सिक्न थालेका छन्,’ विकले भनिन्। उनीहरुले मासिक रु तीन हजारदेखि रु चार हजारसम्म आम्दानी गर्न थालेका छन्।

कैदीबन्दीले कारागारमा कमाएको रकमबाट आफ्नो खर्च चलाएर बाँकी घरमा पठाउने गरेका छन्। एउटा झोलाका लागि आवश्यक कपडा बुन्दा महिला कैदीबन्दीले चार सय रूपैयाँ ज्याला पाउने गरेका छन्।

कैदीबन्दीले झोलाका लागि बुनेर तयार पारेको कपडा कारागारले नै

नै बिक्रीको व्यवस्था मिलाएको तनहुँ कारागारका प्रशासक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

‘यत्तिकै खाली हात बस्नुभन्दा केही उद्यम गरेर आयआर्जन गर्न थालेपछि कैदीबन्दी उत्साहित छन्,’ उनले भने, ‘कारागारबाट घर फर्किएपछि आफैँले व्यवसाय सञ्चालन गरेर जीविकोपार्जन गर्न सहयोग पुग्छ।’

भवन डिभिजन कार्यालय कास्कीको पाँच लाख सहयोगमा महिला कैदीबन्दीका लागि तान बुन्न पूर्वाधार निर्माण गरिएको छ।