Friday, July 10

गलेश्वर मन्दिरको ११ महिनाको आम्दानी करोड नाघ्यो

नेपालअखबार, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको ११ महिनाका अवधिमा एक करोडभन्दा बढी आम्दानी भएको छ ।

Advertisement

भक्तजनको आगमनसँगै मन्दिरको भेटीलगायत शीर्षकमा आम्दानी बढेको हो । चालु आवको साउनदेखि जेठ २१ गतेसम्म एक करोड पाँच लाख २१ हजार पाँच सय आठ आम्दानी भएको कोषका कोषाध्यक्ष कुमारी रोकाले जानकारी दिइन् ।

Advertisement
Advertisement

‘गत वर्षको असारसम्म कोषको आम्दानी दुई करोड ९० लाख ८२ हजार २३५.६० थियो’, उनले भनिन्, ‘चालु आर्थिक वर्षको हालसम्म एक करोड ५१ लाख एक हजार एक सय ३८ आम्दानी भएकामा विभिन्न शीर्षकमा ४५ लाख ७९ हजार छ सय ३० खर्च भएको छ ।

Advertisement

मण्डप भेटी २४ लाख ७६ हजार चार सय ९९ र मेलापर्वको भेटी २६ लाख ९१ हजार छ सय ३८ आम्दानी भएको छ । आव २०७८/७९ मा ४० लाख ८५ हजार पाँच सय २२ भेटीसहित ९१ लाख ८२ हजार पाँच सय ६९ आम्दानी भएको थियो ।

यज्ञ दर्तामा चार लाख ३५ हजार छ सय दुई, यात्री निवासबाट छ लाख ५९ हजार १०, ब्याज आम्दानी १३ लाख २७ हजार ३९, दान दातव्य १५ लाख १२ हजार सात सय २२, जिन्सी बिक्रीबाट दुई लाख ९८ हजार तीन सय ७१, स्टल भाडाबाट पाँच लाख दुई सय ६०, पार्किङ शुल्कबाट एक हजार नौ सय ५० र विविध शीर्षकमा ३७ हजार २० आम्दानी भएको कोषका कार्यालय सचिव राम बानियाँले जानकारी दिP .

गत वैशाख २० देखि यही जेठ २१ गतेसम्म छ लाख ४४ हजार छ सय ९७ भेटी सङ्कलन भएको छ । गत वैशाख महिनामा पाँच लाख २२ हजार दुई सय २५ भेटी सङ्कलन भएको थियो ।

कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ ।

हिन्दूधर्म ग्रन्थमा सतिदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउन महिनाको सोमबार, बालाचर्तुदशी र शिवरात्रि पर्वमा विशेष मेला लाग्नेछ । अन्य समय दैनिक पूजाआजा हुने मन्दिरमा भक्तजनको चाप पनि बढ्दै गएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताP .

‘गलेश्वरमा भक्तजनले चढाउने भेटी मेलाको भोलिपल्टै र अन्य समयमा मासिकरुपमा गनेर सार्वजनिक गर्ने गरिएको छ’, उनले भने, ‘भेटी व्यवस्थित गर्न थालेपछि दानवीरले खुलेर सहयोग गर्न थालेका छन् ।’

मन्दिरको आम्दानीबाट हालै दुई लाख ३० हजार सात सय ५० खर्चेर गलेश्वर बजारको २.५ किमी सडक र मन्दिर परिसरमा सोमबार ५५ वटा सडक बत्ती जडान गरिएको थियो । गत वर्ष गलेश्वर मन्दिरमा पित्तलको छाना छाउन ३१ लाख ७५ हजार, सामुदायिक भवन बनाउन २१ लाख ९९ हजार, कालीगण्डकीबाट पानी ल्याएर ११ धारा बनाउन चार लाख खर्च गरेको थियो ।

जडभरत संस्कृत माविका तीन जना शिक्षकको तलबका लागि मासिक ७२ हजार, आश्रमका ज्येष्ठ नागरिक र तीर्थयात्रीलाई भोजन गराउँदै आएको अन्नक्षेत्रका भान्छेलाई मासिक १७ हजार तलब मन्दिरको आम्दानीबाट दिने गरिएको कोषका सदस्य सचिव बलबहादुर खत्रीले बताए ।

विसं २०६७ सम्म भक्तजनले मूल मन्दिर, आसपासका क्षेत्रमा रहेका शालिग्राम, कुण्डलगायत क्षेत्रमा चढाएको सुनचाँदी, तामा, नगदसहित जिन्सी सामग्रीको कुनै लेखाजोखा हुने गरेको थिएन ।

भेटी, महायज्ञबाट सङ्कलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब १० करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

धर्मशाला, सभाहल, बाटिका, यज्ञशाला, पाठशाला, पुजारी निवास, भोजनालय, कालीगण्डकीसम्म पुग्ने मार्ग, १०८ शिवलिङ्ग, जडभरत, नटराज र लक्ष्मी नारायणको मूर्ति स्थापनालगायत भौतिक संरचना निर्माण भएका हुन् । तेह्र वर्षअघिसम्म ३१ लाख रहेको कोषको आम्दानी हाल करिब चार करोड पुगेको छ ।