Sunday, May 31

बजेट तीन जिल्लामा केन्द्रित भयो भन्ने सुनें -अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ । नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष  माधवकुमार नेपालले सरकारले आगामी आर्थिक वर्षको बजेट डडेलधुरा, गोरखा र नुवाकोट गरी ३ वटा जिल्लामा मात्र केन्द्रित भएको सुनेको  भन्दै सरकारसँग त्यसबारे जवाफ माग्ने बताउनु भएको छ ।

बुधवार अस्ट्रेलियाबाट स्वदेश फर्किएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै  पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेता नेपालले  यस्तो बताउनु भएको हो ।  बजेट मुख्यत तीन जिल्लामा मात्रै  केन्द्रित गरेर ल्याएको भन्ने बारेमा त्यसको आधार खोज्ने र आधार बिना बजेट तीन जिल्लामा मात्रै केन्द्रित गर्न नमिल्ने बताउनु भयो । ‘बजेटबारे मैले केही टिप्पणी सुनेँ, बजेट जति सबै डडेलधुरा र गोरखा र नुवाकोटमा केन्द्रित गरियो भन्ने सुनेँ ।  यो सुन्नामा आयो’ – ‘त्यसको कुनै आधार छ भने बेग्लै कुरा भयो, नत्र कुनै आधारमा टेक्नै पर्ने थियो ।’

Advertisement

डडेल्धुरा सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मंसिर ४ को चुनावमा गोरखा २ बाट निर्वाचित भएका हुन् । अर्थमन्त्री प्रकाशशरण महतको गृह जिल्ला नुवाकोट हो।

प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर मिश्रित प्रतिक्रिया पाएको भन्दै अध्यक्ष नेपालले सबै प्रक्रियालाई विचार गरेर भ्रमण भएको हो वा होइन भन्नेबारेमा पार्टीका नेता र सत्तारुढ दलका नेताहरूसँग बुझ्ने बताउनु भयो । अध्यक्ष नेपालले विदेशमा रहेका नेपालीहरूले नेपालमा लगानी गरिरहेको कुरा सुन्दा आफूलाई खुसी लागेको र अस्ट्रेलियामा पनि आफूले विभिन्न सहरमा पुगेर प्रवासी नेपालीहरूसँग भेट गरेको बताउनु भयो  ।