
नेपालअखबार, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बाढीका कारण अवरुद्ध सडक पुल निर्माण कार्य आजैदेखि सुरु गरिने बताउनु भएको छ ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले शनिबार राति पाँचथरको हेवा खोलाको पक्की पुन बाढीले बगाएको सहित बाढी पहिरोको विषयमा जानकारी दिँदै पाँचथर र सङ्खुवासभा को उत्तरी क्षेत्रमा आएको बाढीका कारण अवरुद्ध सडक पुल बनाउन आजै देखि सुरु गरिने जानकारी दिनुभएको हो ।
उहाँले सरकारले बाढीको कारण अवरुद्ध सडक खुला गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिइसकेको पनि बताउनु भयो । क्षति भएको हेवा खोलाको पुल भत्किएको ठाउँमा बेलिब्रिज बनाउने काम आजैदेखि सुरुवात गरेको भन्दै मन्त्री ज्वालाले १० दिनभित्रमा बेलिब्रिज जडान गर्नेगरी कामलाई अघि बढाएको बताउनु भयो ।
मन्त्री ज्वालाले बाढीको कारण क्षति भएको विभिन्न स्थानको अवरुद्ध भएको सडक खुलाउनको लागि सडक डिभिजन कार्यालय इलाम, यान्त्रिक कार्यालय फिदिम, तमोर करिडोर योजना कार्यालय र मध्यपहाडी सडक कार्यालयका पदाधिकारीहरूलाई मन्त्रालयले निर्देशन दिएको बताउनु भयो ।
उनले सडक विभागबाट आकस्मिक रुपमा काम गर्ने गरी बेलिब्रिज निर्माण गर्न डिभिजन कार्यालय इलामलाई निर्देशन दिइएको पनि बताउनु भयो ।
शनिबार रातिको अविरल वर्षासहितको बाढीले पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका बिचको मेची राजमार्ग अन्तर्गत हेवांखोलामा भएको पक्की पुल सहित पाँचथरमा ५ वटा पुल बगाएको थियो भने स्थानीय जलविद्युत आयोजना सहित थुप्रै संरचनाहरू बगाएको छ ।

