Friday, July 10

चार प्रतिशत बालबालिकामा दृष्टिदोषको समस्या

नेपालअखबार। नेपाल नेत्रज्योति संघ र अर्विसको सहकार्यमा संचालित नेपाल रिच परियोजनाबाट करिब ८ लाख बालबालिकाहरु लाभान्वित भएका छन् । परिक्षण गरिएका मध्य ४ प्रतिशत बालबालिकाहरुमा दृष्टिदोषको समस्या देखिएको छ ।

Advertisement

अर्विसको आर्थिक सहयोगमा नेपाल नेत्रज्योति संघले संचालन गरेको उक्त परियोजना मार्फत झापा मोरङ, पर्सा, सुनसरी र सिराहा जिल्लाका ७ लाख ८५ हजार ४६० जना बालबालिकाको निशुल्क आँखा परिक्षण गरिएको हो ।
सन् २०१८ देखि २०२२ सम्म चलेको परियोजना मार्फत ६ देखि १८ बर्षसम्मका बिद्यालय जाने र नजाने बालबालिकाहरुको आँखा परिक्षण गरिएको थियो । आँखा परिक्षण पश्चात समस्या देखिएका बालबालिकाहरुलाई निशुल्क चस्मा तथा शल्यक्रिया समेत गरिएको बताउछन् नेपाल नेत्रज्योति संघका कार्यक्रम व्यबस्थापक रन्जन शाह ।

Advertisement
Advertisement

उक्त परियोजना मार्फत ४ बर्षमा २ हजार ५ सय ५५ वटा निजी तथा सामुदायिक बिद्यालयहरुमा आँखा जाँच गरिएको थियो । उक्त जाँचका क्रममा दृष्टिमा समस्या देखिएका २० हजार ३ सय ८० जना बालबालिकाहरुलाई निशुल्क चस्मा वितरण गर्नुका साथै २०१ जना बालबालिकाको आँखाको निःशुल्क शल्यक्रिया समेत गरिएको बताउछन् शाह ।

Advertisement

शाहका अनुसार आँखा जाँच गरि वितरण गरिएको चस्मा मध्य ६३ प्रतिशत बालबालिकाहरुले मात्र नियमित रुपमा चस्मा प्रयोग गरिरहेका छन् । ‘चस्मा लगाउँदा साथिहरुले जिस्क्याउने, आमाबाबुले छोरीहरुलाई विबाह गर्न कठिनाई हुने भन्दै चस्मा लगाउन नदिने, चस्मा लगाउँदा सहजता नहुने र लजाउने जस्ता कारणहरुले पनि बालबालिकाहरुले नियमित रुपमा चस्मा नलगाएको देखिन्छ’ शाहले भने ।‘यसरी वितरण गरिएका चस्माको नियमित प्रयोगबाट ति बिद्यार्थीहरुको शैक्षिकस्तरमा समेत उन्नति भएको छ, उनिहरुको दैनिकीमा समेत धेरै नै परिवर्तन आएको देखिन्छ’ शाहले भने ।

नेपाल नेत्रज्योति संघ आर।एम केडिया आँखा अस्पताल, नेपाल नेत्रज्योति संघ सगरमाथा चौधरी आँखा अस्पताल, नेपाल नेत्रज्योति संघ विराटनगर आँखा अस्पताल र मेचि आँखा अस्पताल मार्फत यी जिल्लाहरुमा कार्यक्रम सञ्चालन गरिएको थियो ।

नेपाल नेत्रज्योति संघले कोहि पनि नागरिकहरु पहुँच र पैसाको अभावमा आँखा उपचार सेवाबाट बन्चित नहुन् भन्ने उद्देश्यले विभिन्न दातृ निकायहरुसंगको सहकार्यमा देशैभरी विभिन्न निःशुल्क शिविरहरु आयोजना गरिरहेको बताउछन् संघका कार्यकारी निर्देशक डा।शैलेस कुमार मिश्र ।

परियोजनाले कार्यक्रम संचालित जिल्लाका महिला स्वास्थ्य स्वयसेविका, शिक्षक तथा बिद्यायलका भिजन एम्ब्यास्डरहरुलाई आँखा जाँच सम्बन्धी आधारभुत तालिम समेत प्रदान गरिएको थियो ।