Friday, July 10

बाढीपहिराले ताप्लेजुङका ८१ विद्यालय बन्द

नेपालअखबार, ताप्लेजुङ । ताप्लेजुङको पूर्वी क्षेत्रमा निरन्तर वर्षासँगै बाढीपहिराका कारण विद्यार्थीको पढाइ प्रभावित भएको छ। बाढीपहिराका कारण बाटो घाटो अवरुद्ध भएकाले विद्यालय जान अवस्था नहरेकाले सिदिङ्वा र सिरिजङ्घा गाउँपालिकामा अध्ययनरत विद्यार्थीको पढाइ प्रभावित हुन पुगेको हो।

Advertisement

गत शुक्रबार, बनिवार र आइतबार निरन्तर वर्षाका कारण बाढीपहिराले सिरिजङ्गा गाउँपालिका–८ आम्फुदीनका रहेको कञ्चजङ्घा माध्यमिक विद्यालय उच्च जोखिममा रहेको छ।

Advertisement
Advertisement

सो विद्यालय जोखिममा पर्दा त्यहाँ अध्ययनरत एक सय २२ विद्यार्थीका पढाइ प्रभावित भएको सिरिजङ्घा गाउँपालिकाका शिक्षा शाखाले जनाएको छ। जताततै पहिरो गएकाले बाटो अवरुद्ध भएको छ। बाढीले पुल बगाएसँगै खोला तरेर जान सम्भव नभएकाले सिरिजङ्गा गाउँपालिकाले अनिश्चितकालका लागि विद्यालय बन्द गरेको सिरिजङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काइ पोखरेलले बताए।

Advertisement

सिरिजङ्घा गाउँपालिकामा ४२ वटा विद्यालय सञ्चालनमा रहेको छ। बाढीपहिराका कारणले अहिले गाउँपालिकाका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएको छ। त्यस्तै सिदिङ्वा गाउँपालिकामा ३९ वटा विद्यालय रहेको छ।

सिदिङ्वा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद बेघाका अनुसार ३९ विद्यालयमा तीन हजार एक सय विद्यार्थी अध्ययनरत रहेका छन्। तर अहिले बाढी पहिरोका कारण सबै शैक्षिक संस्था बन्द गरिएको उनले बताए।

बाढीपहिराका कारण आउँदो बर्खे बिदामा मिलाउने गरी साउन ६ गतेसम्मका लागि विद्यार्थीलाई बिदा दिएको गाउँपालिकाले जनाएको छ। निरन्तर वर्षा र बाढीपहिराले गर्दा विद्यालय आउजाउमा समस्या भएकाले पाथीभरा याङ्वरक गाउँपालिकाले यही असार ८ गतेसम्मका लागि विद्यालयमा बिदा दिएको गाउँपालिकाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सिदिङ्वा गाउँपालिका–६ मेहेले गाउँमा गत शनिबार राति गएको बाढीपहिराले बगाएको चार जनामध्ये एकै घर परिवारका तीन जना अझै बेपत्ता रहेका छन्। एक जनाको सोही दिन शव फेला परेको थियो। सोही गाउँमा आइतबार बिहान पहिराले तीन जना बगाएको थियो। एक घरका बाबु छोराको शव भेट्टिएको थियो भने एक जना नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर अहिले विराटनगरको न्युरो अस्पतालमा उपचार भइरहेको छ। रासस