Thursday, July 16

पोखरामा ड्रागन ‘बोट’ रेस प्रारम्भ

नेपालअखबार, पोखरा । पर्यटकीय नगरी पोखरामा नेपाल–चाइना फ्रेन्डसीप ड्रागन बोट महोत्सव भव्यताका साथ सुरु भएको छ ।

Advertisement

नेपालस्थित चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना सुरु भएको महोत्सव एक कार्यक्रमकाबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उद्घाटन गर्नुभयो । प्रतियोगितामा चिनियाँ चार र नेपाली चार टोली सहभागी छन् ।

Advertisement
Advertisement

यो महोत्सव दक्षिण एशियाकै पहिलो भएको दाबी गरिएको छ । फेवाताल किनारमा आयोजित प्रतियोगितामा सातै प्रदेशबाट र चीनबाट गरी एक सय ६० जनाको सहभागिता छ । प्रतियोगितामा सिचुवान ड्रागन बोट टोली, युवान बोट टोली एसजी ड्रागन बोट टोली सिङ्गापुर,  चाइना–नेपाल फ्रेन्डसीप ड्रागन बोट टोली पोखरा, नारा ड्रागन बोट टोली नेपाल, एनआरिसए बोट टोली नेपाल, फेवा ड्रागन कनेट टोली नेपाल र पोखरा महानगर ड्रागन बोट टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

Advertisement

पहिलो दिन दुई सय मिटर र दोस्रो दिन पाँच सय मिटर गरी आठ वटा बोट रेश प्रतियोगिता हुनेछ । प्रतियोगितामा विजेताले रु २० लाख नगद, मेडल तथा प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा प्रयोग गरिने बोट चीनबाट ल्याइएको हो । प्रतियोगिताका लागि चाहिने सामग्री पनि चीनबाट ल्याइएको थियो । उक्त सामग्री केरुङ नाका हुँदै भित्र्याइएको थियो ।

बुधबार चीनको लिङ्जी नगरबाट नगर उपप्रमुखसहित ६० जनाको टोली चार्टर उडानबाट आएका छन् । नेपालमा चिनियाँ पर्यटक बढाउने उद्देश्यले उक्त आयोजना गरिएको  हो । गत वैशाख २१ गते बिहीबार नेपाल पर्यटन बोर्ड र चिनियाँ दूतावासका अधिकारी तथा पोखरा महानगरपालिकाका बीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । रासस