Thursday, July 30

म्याग्दीकाे गुर्जामा ४३ दिनमै खानेपानी योजना सम्पन्न

नेपालअखबार, म्याग्दी । धवलागिरी गाउँपालिका–१ गुर्जामा अझै सडक यातायातको सुविधा पुगेको छैन् । म्याग्दीका ४५ वडामध्ये सडक नपुगेको वडा गुर्जा मात्र हो । गुर्जा पुग्न धवलागिरी गाउँपालिकाको वडा नम्बर २ लुलाङबाट पुरै दिन जंगल, भिर र खोल्साको बाटोमा पैदलयात्रा गर्नुपर्छ । घोडा, खच्चर र भरिया मार्फत सामान ढुवानी गर्नुपर्छ ।

Advertisement

यस्तो दुर्गम र विकट बस्तीमा सञ्चालन भएको गुर्जा खानेपानी आयोजना निर्माण लक्ष्य भन्दा अघिनै सकिएको छ । ढिलासुस्तिका कारण म्याग्दीका ठूला विकास आयोजना थलिएको अवस्थामा गुर्जा खानेपानी आयोजनाको काम लक्ष्य अघि नै सम्पन्न भएको हो ।

Advertisement
Advertisement

धवलागिरी–१ का अध्यक्ष झक छन्त्यालले निर्माण व्यवसायीको इच्छाशक्ति, व्यवस्थापन र सरोकारवालाको प्रभावकारी सहजिकरण तथा समन्वय हुने हो भने विकास आयोजनामा हुने ढिलासुस्ति हटाउन सकिने सन्देश गुर्जा खानेपानी आयोजनाले दिएको बताए ।  “सुगम र सदरमुकाममा ठूला भनिएका ठेकेदारले जिम्मा लिएका आयोजना अलपत्र परेको अवस्थामा हाम्रो जस्तो विकट ठाउँको काम निर्धारित समय अगावै सकिएको छ,” उनले भने “सरोकारवालामा इच्छाशक्ति हुने हो भने विकास आयोजनामा हुने ढिलासुस्ति हटाउन सकिने रहेछ ।”

Advertisement

कूल रु ५० लाख लागत अनुमान गरिएको गुर्जा खानेपानी आयोजना निर्माणका लागि धवलागिरी गाउँपालिका र बेनीको बिएण्डडी निर्माण सेवा बिच २०७९ चैत १४ गते ठेक्का सम्झौता भएको थियो । रु। ४४ लाख ७८ हजार ११२ मा भएको सम्झौताको म्याद यही असार १५ गतेसम्म थियो ।

निर्माण कम्पनीका प्रतिनिधि गोर्खा छन्त्यालले यही असार १० गतेनै सम्झौता अनुसारको सबै काम सम्पन्न गरेको जानकारी दिए । काम शुरु गरेको ४३ दिनमा सम्पन्न गरेको उनले बताए । साउनाखोलाको मुहानमा इन्टेक, त्यहाँदेखि गुर्जागाउँसम्म ६३ एमएमको तीन हजार ४८० मिटर मुख्य पाइपलाईन बिछ्याइएको छ ।

लुलाङ देखि खच्चर र भरियालाई बोकाएर पाइप, सिमेन्ट, रड लगायतका निर्माण सामग्री ढुवानी गरिएको थियो । पच्चीस हजार लिटर क्षमताको रिजर्भ टंकी पनि निर्माण भएको छ । इन्टेक, मुख्य पाइपलाइन र टंकीको परीक्षण सफल भएको छ ।

गुर्जाका करिब २५० घरधुरीलाई निजी धारा मार्फत खानेपानी वितरण गर्ने उद्देश्यले धवलागिरी गाउँपालिकाले क्रमागत आयोजना सञ्चालन गरेको हो । यो आयोजनाबाट गुर्जाको देउराली बस्ती बाहेकका सबै घरमा खानेपानी पुग्नेछ ।  शाखा लाइन र निजी धारा बनाएर आगामी वर्ष आयोजनालाई पूर्णता दिइने धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । गत वर्ष सञ्चालित गुर्जाको स्वास्थ्य चौकीको भवन निर्माण गर्ने योजना पनि लक्ष्य अघि नै सम्पन्न भएको छ ।   रासस