गोरखा । आगामी शनिबार सदरमुकाममा ‘लाइभ इन गोरखा’ कार्यक्रम हुने भएको छ । सदरमुकामको खेलकुद मैदानमा आयोजना हुने कार्यक्रममा राष्ट्रिय तथा स्थानीय ब्याण्डहरुको साँगितिक प्रस्तुती रहने बताइएको छ ।
गोरखा कालिका साँस्कृतिक कला केन्द्रको आयोजना तथा दारी ग्याङ्ग गोरखाको सहआयोजनामा कार्यक्रम हुन लागेको हो ।
कार्यक्रममा चर्चित गायक कर्ण दासको समेत प्रस्तुती रहने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउनका लागि साँस्कृतिक कार्यक्रम आयोजना गरिएको कला केन्द्रका अध्यक्ष विक्रम तामाङले बताए ।
‘साँस्कृतिक कार्यक्रम मार्फत आन्तरिक पर्यटक भित्राउने हाम्रो लक्ष्य हो’ तामाङले भने ‘यसले भ्रमण बर्षलाई सफल बनाउन समेत टेवा पुग्छ भन्ने विश्वास छ ।’
कार्यक्रममा नेपालय ब्याण्ड चितवन, गोरखा तारा साजन गुरुङ, गोरखा मल्टिट्यालेण्ट ग्रुप, द म्युजिकल मन्त्र, डिज्याष्टर ब्याण्ड, द गोरखा फ्युजन ब्याण्ड लगायतको प्रस्तुती रहने बताइएको छ ।
कार्यक्रममा करिब ८ लाख ५० हजार लागत लाग्ने अनुमान गरिएको सहआयोजक दारी ग्याङका अध्यक्ष राजेन्द्र न्यौपानेले बताए । ५ सय रुपैया टिकट दर राखिएको कार्यक्रममा करिब २ हजार दर्शक आउने अपेक्षा गरिएको न्यौपानेको भनाई छ ।
कार्यक्रमबाट नाफा भएको २० प्रतिशत रकम भने सामाजिक कार्यमा खर्च गर्ने आयोजकको तयारी छ । कार्यक्रम फागुन १७ गते खेलकुद मैदानमा दिउँसो ३ बजेदेखि सुरु हुने बताइएको छ ।

