
नेपालअखबार, काठमाडौँ। एकीकृत ट्रेड युनियन महासँघ, नेपालले श्रमिकहरूको ज्याला परिवारको जीवन धान्न सक्ने गरि बृद्धि गर्न न्यूनतम वेतन बोर्डसँग माग गरेको छ।
नेकपा (एकीकृत समाजवादी) निकट महासँगले शुक्रबार एक विज्ञप्ति जारी गरेर उक्त माग गरेको हो । साथै महासंघले साउन १ गतेदेखि लागु हुनेगरी न्युनतम ज्याला निधारण गरिने समय आउँदासम्म पनि वेतन बोर्ड बेखर रहेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ।
महासंघका महासचिव दिपक पौडेलेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस वर्ष साउन १ गतेबाट लागु हुनेगरी न्युनतम ज्याला निर्धारण गरिने वर्ष हो। तर, असारको २९ गते भइसक्दा पनि न्यूनतम वेतन बोर्ड बेखबर जस्तो अवस्थामा छ। नेपाली श्रमिकहरुको हालको ज्याला अत्यन्तै न्यून छ । महिनाभरी काम गरेर पनि बाँच्न पुग्ने तलब सुविधा छैन। जसले नेपालको श्रम शक्ति विदेश जान बाध्य छ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘वर्षेनी करिब ४ देखि ५ लाख श्रमिकहरु खाडीमा चर्को घाममा गएर रगत पशिना बगाईरहेका छन्। खाडी जानबाट रोक्न र नेपाली श्रमिकहरुलाई नेपालमै रोजगार सिर्जना गर्न राज्यले नयाँ ढंगले सोच्नुपर्ने स्थिति छ। त्यस कारण यस वर्ष वृद्धिहुने एउटा परिवारलाई जीवन धान्न सक्ने ज्याला बृद्धि गर्न महासंघ जोडदार माग गर्दछ।’
विज्ञप्ति हेर्नुहोस्


