
नेपालअखबार, काठमाडाैं। संसदीय सुनुवाइ समितिले प्रस्तावित ६ राजदूतविरूद्ध उजुरी आह्वान गरेको छ।
उनीहरूलाई राजदूत बनाउन उपुक्त छैन भन्ने लागेमा १० दिनभित्र उजुरी दिन सकिने छ। उजुरी कर्ताले चाहेमा उनीहरूको नाम, थर र वतन गोप्य रहने समिले बताएको छ।
गत असार ३० गते सरकारले लोकबहादुर थापालाई न्युयोर्ककालागि राजदूत र संयुक्त राष्ट्र संघका लागि नेपालको स्थानीय नियोगको स्थायी प्रतिनिधि सिफारिस गरेको थियो।
त्यस्तै रामप्रसाद सुवेदीलाई स्विटरल्यान्डका लागि आवासीय राजदूत, सुधिर भट्टराई फ्रान्सका लागि आवासीय राजदूत सिफारिस भएका थिए।
घनश्याम लम्साल कुवेतका लागि र तेजबहादुर क्षेत्र संयुक्त अरब इमिरेट्सका लागि आवासीय राजदूत सिफारिस भएका थिए।
थाइल्यान्डका लागि आवासीय राजदूत धनबहादुर वली सिफारिस भएका थिए।
‘नेपाली राजदूतको पदमा उहाँहरूलाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबुत प्रमाणसहित यो सूचना प्रथम पटक प्रकाशित÷प्रसारित भएको मितिले दस दिनभित्र कार्यालय समयमा यस समितिको निम्न ठेगानामा वा सो समितिको सचिवालयमा आई सूचना वा उजुरी दिन सकिनेछ। यस्तो सूचना दिने सूचनादाताले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट रूपमा खुलाउनुपर्ने र निजले चाहेमा सूचना दाताको नाम गोप्य राखिने व्यहोरा समेत जानकारी गराइन्छ,’ समितिले सूचना प्रकाशित गर्दै भनेको छ।
उजुरी आह्वानपछि प्रस्तावित राजदूतको संसदीय समितिमा सुनुवाइ हुने छ। समितिले अनुमोदन गरे पछि राजदूत नियुक्त हुने छन्।

